Syangja Dainik Media
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको तिलोत्तमालाई

पालिका स्तरीय टी – १५ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जितेको छ ।

शनिबार स्याङ्जाको चापाकोटस्थित गंगालाल मावि खेलमैदानमा भएको फाइनल खेलमा तिलोत्तमाले चापाकोट नगरपालिका 'ए'लाई ४४ रनले पराजित गरेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित पन्ध्र ओभरमा आठ विकेट गुमाउँदै एक सय ४४ रन बनाएको थियो ।

तिलोत्तमाको लागि विकल पराजुलीले ४७, सुरज चौधरीले ३५ र विपर्स केसीले २१ रन बनाएका थिए भने चापाकोटका रामचन्द्र ढकालले चार, नारायण भण्डारीले दुई रविन भट्राई र अनिश ताम्राकारले एक/एक विकेट लिएका थिए ।

यस्तै, एक सय ४५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको चापाकोट 'ए'ले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतिमा एक सय रन बनाउँदै उपविजेतामा सिमित बनेको हो ।

चापाकोटको लागि नारायण भण्डारीले ३१, विशाल कोइरालाले १६, रामचन्द्र ढकालले १४ रन बनाएका थिए भने तिलोत्तमाका अमन बोहराले तीन, विपर्स केसी, विकल अधिकारीले दुई/दुई, मुनेश्वर चौधरी र लाल बहादुर मालाले एक/एक विकेट लिएका थिए ।

तिलोत्तमाले उपाधिसहित ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको हो भने उपविजेतामा सिमित चापाकोट 'ए'ले ३० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो । विजेता तथा उपविजेतालाई चापाकोट नगरपालिका प्रमुख देवबहादुर खाँणले पुरस्कार वितरण गरेका थिए ।

वैशाख १६ गतेबाट चापाकोटको गङ्गालाल मावि खेलमैदानमा नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा १३ पालिकाका १८ टिमको सहभागिता रहेको चापाकोट नगर क्रिकेट सङ्घका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update