Syangja Dainik Media
सकारात्मक चिन्तन कार्यक्रम सम्पन्न

अहिलेको महँगो जीवनशैली, क्षमता नभएपनी स्तरीय जीवन जिउने सबैलाई इच्छा, गरिबी, पारिवारिक विचलन, लागूपदार्थ सेवन, सामाजिक संजालको दुरुपयोग, प्रेममा असफलता जस्ता कारणले मानिसहरुमा सिर्जना भएको मानसिक विचलनलाई रोकी हाम्रो जीवनशैली सुखी र खुसी बनाउने उद्देश्यले सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा सकारात्मक चिन्तन कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनचौपारी गाउँपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सपना गुरुङले परिवारमा सुख र शान्त वातावरण बनाउँदै आफूमा परेको समस्याहरु आफ्ना अभिभावक र अग्रजलाई बताएर सहज ढंगबाट समस्याको समाधान गर्नुपर्ने बताइन् ।

उनले सकारात्मक सोचले व्यक्तिमा आत्मविश्वास, उत्साहसङ्गै व्यक्ति कठिन परिस्थितिमा पनि सहजता र सकारात्मकता राख्न सहयोग गर्ने बताइन् ।

सकारात्मक सोचसहित जिन्दगी सरल, सहज गरी लामो समयसम्म जिउन मनोपरामर्शदाता सुदिप घिमिरेले प्रशिक्षण गरेका थिए । कार्यक्रममा यहाँका जनप्रतिनिधि, कर्मचारी, एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्षता गरेका कार्यालय प्रमुख जीवन पौडेलले सकारात्मक सोचका कारण व्यक्तिको व्यवहारमा सहिष्णुता, विश्वास र ईमानदारी जस्ता सद्गुणहरु बढ्ने, जसले जीवनलाई समृद्ध र सन्तुलित बनाउन सहयोग गर्ने बताए ।

उक्त कार्यक्रमको सञ्चालन अर्जुनचौपारी गाउँपालिका सामाजिक शाखा प्रमुख मनिषा घिमिरेले गरेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update