Syangja Dainik Media
बसाइँसराइ रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ्

स्याङ्जाको वालिङ् नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाइँसराइका कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए ।

उनले भने,“गाउँगाउँमा रहेको उर्वर भूमी बसाइँसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।” कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाइँसराइ रोकिने उनको भनाइ छ । 

प्रमुख खाँणले मेहनत गरे अनुसारको उत्पादन नहुँदा कृषक पेशाबाटै पलायन हुने अवस्था आएको बताए । गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उनको बुझाइ छ । कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउनु नगरपालिकाको योजना रहेको प्रमुख खाँणले बताए ।

वालिङ् नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालिन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगरप्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिए ।

१४ वटा वडा रहेको वालिङ्मा सबै वडाको वस्तुस्थितिसहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिए । वालिङ् कृषि विकास परियोजनाको सम्झौताअनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उनको भनाइ छ ।

छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी, डाक्टर अम्मर शाह, नगेन्द्र बस्ताकोटी, अस्मिता नेपाललगायतले कृषि विकास रणीनितको आवश्यक्ता र महत्वका बारेमा जानकारी गराएका थिए ।

कृषि विकास योजना र रणनीति निर्माण पश्चात् पालिकाले कृषि र पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डाक्टर रामचन्द्र बस्ताकोटीको भनाइ छ । उनले भने,“काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।”

प्रकाशित मिति: बुधबार, जेठ १, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update