
स्याङ्जाको कालीगण्डकी –१ कारीकोट र गुल्मीको रुरु गाउँपालिका जोड्ने कालिगण्डकी मोटरेबल स्टिल ट्रस पुल १३ बर्षपछि निर्माण कार्यले गति लिएको छ ।
तीन वर्षमा सक्नेगरी २०६९ असार २५ गते स्वछन्द निर्माण सेवा काठमाडौंले सडक डिभिजन कार्यालय पाल्पासँग सम्झौता गरेर काम अगाडि बढाएको थियो । निर्माण कम्पनीले मोटरेबल स्टिल ट्रस पुल १८ करोड ३२ लाख ४० हजार ६२६ रुपियाँ ८५ पैसामा सम्झौता गरेको थियो ।
दुई स्पानमा १५० मिटर लम्बाई रहेको स्टिल ट्रस पुलको सम्झौताअनुरूप काम सक्ने समय सकिँदा नक्सा बनेको थियो । सम्झौताको तीन बर्षमा बेस फाउण्डेसनको डिजाइन आएकोमा काम थालेकै ६ महिनामै पुलबिचको पिलर जमिनमुनि नदबिएपछि निर्माण रोकिएको थियो ।
बिचको पिलर १६ मिटर जमिनमुनि दब्नु पर्नेमा नौ मिटर मात्र दबेपछि काम रोक्नु परेको निर्माण कम्पनिका साइड इन्जिनियर बलराम पन्थीले बताए । दुईतर्फका पिलर बने पश्चात् बीचको पिलर बनाउन थालेको बताउँदै पन्थीले साढे चार मिटरमा काठ भेटिएको र गोताखोरमार्फत जमिन खन्दा नवौं मिटरमा काठको मुडा र ठुलो ढुङ्गा नभेटिए पनि कामलाई अगाडि बढाउन नसकेको बताए ।
११ वर्षसम्म १० प्रतिशत मात्र काम गरेर अलपत्र परेको स्टिल ट्रस पुललाई निर्माण कम्पनिको २०७९ असोज ११ गते मागअनुसार पुल महाशाखाले २०८० जेठ २९ गते पायल फाउण्डेसनको डिजाइन परिवर्तन गरेको थियो । डिजाइन परिवर्तनको एक वर्षमा भेरियसन स्वीकृत गरेसँगै निर्माण कम्पनीले काम थालेको थियो ।
गत फागुन १५ गते आगामी २०८३ जेठ १५ गतेसम्म सक्नेगरी पुलको पाँचौ पटक म्याद थपिएको बताउँदै इन्जिनियर निशा बेलबासेले रोकिएको पुलको भौतिक प्रगति ५० प्रतिशत भएको बताइन् ।
डिजाइन परिवर्तनसँगै बिचको पिलर पायल फाउण्डेसनमा २४ मिटर खनेर १२ वटा पायर हालेर बनाइएको छ । आर्थिक प्रगति २२ प्रतिशत अर्थात् चार करोड ९१ लाख ४८ हजार ६१२ रुपियाँ भएको बताउँदै बेलबासेले पहिलो स्पानको लागि स्टिल ट्रस अर्डर गरेर निर्माण समेत भएको बताइन् ।
पुल निर्माणले गण्डकी प्रदेशको स्याङ्जाको कालिगण्डकी गाउँपालिका र लुम्बिनी प्रदेशको गुल्मीको रुरु गाउँपालिकाका र वरपरका हजारौ नागरिक लाभान्वित हुनेछन् ।