Syangja Dainik Media
राइड सेयरिङ नियमावली खारेज नगरे जेठ १५ देखि गण्डकीमा सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी

गण्डकी प्रदेश सरकारले हालै ल्याएको राइड सेयरिङ नियमावली खारेज नगरे यही जेठ १५ देखि गण्डकी प्रदेशका सार्वजनिक यातायातका सवारीसाधनहरु घर ग्यारेज गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

पोखरामा बिरोध कार्यक्रम गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले आफूहरुको माग यही जेठ १४ गते भित्र पूरा नभए जेठ १५ देखि गण्डकी प्रदेशमा महासंघमा आवद्ध सार्वजनिक यातायातका सवारीसाधनहरु संचालन नगरी घर ग्यारेज गर्ने चेतावनी दिएका हुन् ।

SDO_SYJ ADS

यदि आफूहरुको माग सम्बोधन गर्ने विषयमा प्रदेश सरकार गम्भिर नभए जेठ १६ गते देखि देशव्यापी रुपमा महासंघ केन्द्रको समेत समन्वयमा यातायात सेवा प्रभावित हुने महासंघ गण्डकीका सचिव योगेन्द्र बहादुर केसीले बताए ।

आफूहरुको मागको विषयमा महासंघ केन्द्रले समेत संघीय सरकारलाई समेत ध्यानाकर्षण पत्र बुझाएको र माग पूरा नभएसम्म अब आफूहरु आन्दोलनमा उत्रिनुको विकल्प नभएको उनले जनाए ।

अर्बौं लगानी गरेको यातायात क्षेत्रमा कमिसन र बिचौलियाको भरमा यात्रुलाई उच्च जोखिममा पार्दै प्रदेश सरकारले ल्याएको उक्त नियमावली खारेजी नभएसम्म आफूहरुको आन्दोलन जारी रहने महासंघ गण्डकीले जनाएको छ ।

राइड सेयरिङ गर्दै आएका चालकहरूले भने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गरी धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update