
स्याङ्जामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जेठ १९ गतेबाट स्याङ्जाको चापाकोट नगरपालिका – १० सुन्तलीटारमा जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।
जिल्ला खेलकुद विकास समिति स्याङ्जाको आयोजनामा हुने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटफुट, सितोरिया कराँते, तेक्वान्दो र उसुलगायतका खेलहरु हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रेग्मीले जानकारी दिए ।
जिल्ला स्तरीय प्रतियोगिता जेठ १९ गतेदेखि २१ गतेसम्म हुनेछ । ११ पालिका रहेको स्याङ्जामा पालिका स्तरीय प्रतियोगिता सम्पन्न गरेका १० पालिकाको सहभागिता रहने र प्रतियोगितामा करिब पाँच सय विद्यार्थीको सहभागिता रहने रेग्मीले बताए ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा प्रथम र सामुहिक खेलमा उत्कृष्ट खेलाडी यहि जेठ २२ गतेबाट गोरखामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।