
गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा पहिलो भएको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधि (माघदेखि चैतसम्म) को सम्पादित कार्यहरुका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिलो स्थान हासिल गरेको हो ।
शान्तिसुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध (सेवा प्रवाह र सुशासन), लागूऔषध र नियन्त्रण, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायतका सूचकहरूमा मन्त्रालयले त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
यसभन्दा अगाडिको मूल्याङ्कनमा स्याङ्जा पहिलो त्रैमासिकमा २७ औं र दोस्रो त्रैमासिकमा दोस्रो स्थानमा परेको थियो ।
गृह मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक कार्यसम्पादनको तालिकाअनुसार कूल १८ दशमलव ५ पूर्णाङ्कमध्ये स्याङ्जाले १८ दशमलव १२५ अङ्क प्राप्त गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ का लागि गृह सचिव र प्रमुख जिल्ला अधिकारीबिच भएको कार्यसम्पादन सम्झौताअनुसार स्याङ्जाले तेस्रो त्रैमासिकमा पहिलो स्थान हासिल गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले बताए ।