Syangja Dainik Media
सेवा प्रवाह सहज बनाउन स्याङ्जा प्रशासनमा विद्युतीय टोकन सिस्टम सुरु

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाग्राहीको सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको छ । भिडभाड नियन्त्रण र सेवा प्रवाह सहज बनाउन विद्युतीय टोकन सिस्टम सुरु गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

विद्युतीय टोकन सिस्टमबाट तत्काल राष्ट्रिय परिचयपत्रको लागि मात्र टोकन लिन सकिने व्यवस्था रहेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए । 

SDO_SYJ ADS

उनले पहिलो चरणमा राष्ट्रिय परिचयपत्र बनाउन र लिन आउने सेवाग्राहीका लागि विद्युतीय टोकन सिस्टम सुरु गरिएको बताए । सेवाग्राहीले लिएको टोकनको नम्बर अनुसार पालो आउने भएकाले सहज रुपमा सेवाग्राहीले सेवा लिने सक्ने र सुशासन पनि कायम हुने सहायक प्रजिअ पौडेलको दाबी छ ।

यससँगै आगामी दिनमा नागरिकता, नागरिकताको प्रतिलिपी, ई-पासपोर्टलगायतको सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन विद्युतीय टोकन सिस्टम बिस्तार गरिने सहायक प्रजिअ पौडेलले बताए । उनले सेवाग्राहीलाई टोकन सिस्टमबाट सेवा प्रवाह गरिने भएपछि अनावश्यक झन्झटको अन्त्य हुने अपेक्षा गरिएको बताए ।

टोकन प्रणाली सुरु भएपछि सेवाग्राहीले सहज रुपमा सेवा पाउनुका साथै कार्यकक्षमा अनावश्यक भिड कम हुने गरेको राष्ट्रिय परिचयपत्र शाखाकी कम्प्युटर अपरेटर ममिता भुसालले बताइन् ।

सेवाग्राहीलाई बिना झन्झट प्रभावकारी ढंगले सेवा लिन पाउने व्यवस्था गरेकाले यसलाई सधैं कायम राख्न सेवाग्राहीहरुले प्रशासनलाई आग्रहसमेत गरेका छन् । सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रका लागि मात्र नभई टोकन सिस्टम प्रशासनले प्रवाह गर्ने अन्य सेवाहरुमा पनि बिस्तार गर्नुपर्ने आग्रह गरेका छन् ।

दुई लाखभन्दा बढी मूल्य पर्ने विद्युतीय सिस्टमको टोकन मेसिन गृह मन्त्रालयको बजेटमा प्रशासनले खरिद गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । विद्युतीय टोकन सिस्टम राष्ट्रिय परिचयपत्रसँगै अन्य शाखाहरुमा बिस्तार भएपछि प्रशासनबाट प्रदान गरिने सेवा प्रवाहमा थप टेवा पुग्ने प्रजिअ अर्यालले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update