
अवैध रुपमा जडिबुटी संकलन गर्ने तीनजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वत महाशिला गाउँपालिका – ४ का ३५ वर्षीय पुनम गुरुङ, ३२ वर्षीय देवेन्द्र गुरुङ र २५ वर्षीय अमृत भन्ने जित बहादुर विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ३ टाउँ घडेरी चुत्रेनी जङ्गलमा चुत्रो जातको जडिबुटी अवैध रुपमा संकलन गर्ने तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
अवैध रुपमा जडिबुटी संकलन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी अर्जुनचौपारी र अर्जुनचौपारी गाउँपालिकाको गाउँ प्रहरीको संयुक्त टोलीले बुधबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताए ।
उनीहरूको साथबाट करिब पाँच सय केजी चुत्रो जातको जडिबुटी बरामद गरिएको र आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।