Syangja Dainik Media
भीरकोटमा कृषि तथा पशु विकास परियोजना सुरु

स्याङ्जाको भीरकोट नगरपालिकामा कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन र विकासका लागि ‘भीरकोट कृषि तथा पशु विकास परियोजना’ सुरु गरिएको छ । हेफर र भीरकोट नगरपालिकाको साझेदारीमा सञ्चालन हुने यो परियोजनामार्फत कृषकहरूलाई उद्यमशील र व्यवसायिक बनाउने लक्ष्य राखिएको छ ।

कृषि र पशुपालन व्यवसायको विकास गरी सामाजिक पूँजी निर्माण गर्न, साना किसानहरूको वित्तीय पहुँचमा अभिवृद्धि गर्न, कृषकहरूले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण गर्न र युवाहरूलाई कृषि क्षेत्रमा रोजगारी सृजना गर्न परियोजना संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले जानकारी दिए ।

कृषि तथा पशु क्षेत्रको दीर्घकालीन एवं व्यवसायिक विकास गरी नगरबासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँगको सहकार्यमा परियोजना सञ्चालन गरिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । उनले भने,'समथरभन्दा धेरै पहाडी क्षेत्र भएको भीरकोटमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेका छौं ।'

SDO_SYJ ADS

हेफर प्रोजेक्ट नेपालका सचिव निर्मला क्षेत्रीले नगरपालिकाभित्रका महिला तथा पछाडि परेका समुदायलाई परियोजनाले उद्यमशीलतामा जोड्ने जानकारी दिइन् । संविधानले दिएको अधिकारलाई स्थानीय सरकारले प्रयोग गर्न जरुरी रहेको भन्दै क्षेत्रीले परियोजना कार्यक्रम महिलाहरुको आर्थिक उन्नतीमा सहयोगी हुने स्पष्ट पारिन् ।

परियोजना नगरपालिकाभित्रका ९ वटै वडामा संचालन हुनेछ । सबै वडाका निम्न आय घरपरिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिए । विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।

हस्ताक्षर कार्यक्रममा वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्ष नन्दलाल खनाल, लक्ष्मण खत्री क्षेत्री, हेफर प्रोजेक्टका वित्तीय निर्देशक चैतन्य गोपाल डंगोल, वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे, दियालो संस्थाका कार्यबाहक अध्यक्ष विष्णु सुवेदीलगायतले कार्यक्रमको बारेमा बोलेका थिए ।

भीरकोट नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सञ्चालन गर्न जेठ २० गते मंगलबार हस्ताक्षर गरिएको हो । परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।

२०८२ जेठ २० गतेबाट सुरू भएको परियोजना २०८३ पुस १६ गतेसम्म सञ्चालन हुनेछ । २० महिने परियोजनाको कुल तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।

परियोजनाका कार्यक्रमहरू सञ्चालन गर्न नगरपालिकाले दुई करोड ४५ लाख रुपियाँ खर्च गर्नुपर्नेछ र यो सबै लक्षित समुदायको हितमा खर्च हुनेछ । यसैगरी परियोजनामा साझेदार संस्था हेफरले एक करोड ५ लाख ५० हजार रूपैयाँ खर्च गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update