Syangja Dainik Media
पोखरामा युवा हत्या आरोपमा स्याङ्जाका दुईजना पक्राउ

पोखरा महानगरपालिका वडा नं. -१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा युवकको हत्या आरोपमा स्याङ्जाका दुईजना पक्राउ परेका छन् । घटनामा संलग्नलाई कास्की प्रहरीले केही घण्टामै पक्राउ गर्न सफल भएको जनाएको छ ।

मृत्यु हुनेमा तनहुँको भीमाद निवासी २१ वर्षीय मनोज भुजेल रहेको वडा प्रहरी कार्यालय, रामबजारका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कँडेलले जानकारी दिए ।

मृतक भुजेल पोखरा -१४ मा बस्दै आएको र त्यहाँ नजिकै खहरेमा प्लटिङमा काम गर्दै आएका मजदुर रहेको उनले बताए ।

SDO_SYJ ADS

भुजेलको हत्यामा संलग्न स्याङ्जाका नाबालकसहित दुईजना प्रकाउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

यद्यपि, कास्की प्रहरीले घटनामा संलग्न दुईजना पक्राउ परेको पुष्टि गरेपनि थप विवरण भने दिएको छैन । ‘दुई जना पक्राउ परेका छन् । हत्या किन गरे भन्ने कारणबारे सोधपुछ जारी छ । अहिले यति मात्रै दिन मिल्ने कुरा भयो । केही समयपछि पत्रकारलाई जानकारी दिनेछौँ ।’ – कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने ।

तर, विश्वस्त प्रहरी श्रोतका अनुसार पक्राउ पर्नेमा स्याङ्जा जिल्ला वालिङ -१० घर भई पोखरामा ट्याक्टर चलाउँदै आएका २० वर्षीय पवनकर रानासहित दुई जना छन् । १४ वर्षीय बालक (नाम गोप्य) सहयोगी हुन् । उनीहरूसहित ट्याक्टर पनि प्रहरी नियन्त्रणमा रहेको बुझिन्छ ।

सोमबार बिहान ११ बजेतिर छिनेडाँडाबाट उनीहरू पक्राउ परेका हुन् । मृतक र अभियुक्त सबै मजदुर हुन् । उनीहरू राति सँगै फर्कदैँ थिए ।

यद्यपी, अभियुक्तद्वयले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या नगरेको जिकिर गरेका छन् । भुजेल र सँगै रहेको घन ट्याक्टरबाट सडकमा खसेको उनीहरूको भनाई रहेको छ । तत्काल ट्याक्टरको टायरले किचेको उनीहरूले बताएका छन् । सडकमा भुजेलको शवसँगै घन भेटिएको थियो । पोष्टमार्टमको रिपोर्ट सार्वजनिक भइसकेको छैन ।

सडकमा रक्ताम्मे अवस्थामा मृत भेटिएका भुजेललाई ह्यामर प्रयोग गरी हत्या गरिएको थियो । सोमबार बिहान ५ बजे बीच सडकमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको पोखरा -१५ का वडा सदस्य आशिष भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update