
पोखरामा आजदेखि प्रचण्ड कप आमन्त्रित राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने प्रतियोगिताको उद्घाटन खेल एनपिसी र एपीएफबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
त्यसपछि टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबबीचको खेल हुने आयोजकले जनाएको छ । त्यसअघि दिउँसो साढे २ बजे प्रतियोगिताको उद्घाटन समारोह हुनेछ । उक्त समारोहको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब, स्टेप रामपुर क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब छन् भने समूह ‘बी’ मा टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब छन् । विभागीय टोलि आर्मी क्लबले सहभागिता नजनाउने भएपछि अन्तिम समयमा स्टेप रामपुरलाई प्रतियोगितामा समेटिएको एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।
दुवै समूहका शीर्ष दुईदुई टोलीले सेमिफाइनल खेल्नेछन् । पहिलो दिनको खेलका लागि प्रवेश निशुल्क गरिएको छ । उद्घाटनबाहेक लिग चरणका खेलका लागि दुई सय र फाइनल खेलका लागि चार सय रुपैयाँ टिकट दर तोकिएको छ । खेल स्थल बाहिर भौतिक रुपमा र अनलाइनमा माइपे वालेटबाट टिकट लिने सुविधा मिलाइएको छ । इन्डोर हलमा २५ सयदेखि ३ हजार सीट क्षमता रहेको छ ।
प्रतियोगिता नेपाल भलिबल संघ र एभआइभिवीको नियमअनुसार राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ भने सहभागी टिममा विदेशी खेलाडीको हकमा तीन जनासम्म खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै, तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।
एकेडेमीको माध्यमबाट नेपालको लोकप्रिय खेल तथा राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको कोइरालाले बताए ।
आगामी दिनमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकेडेमीले लक्ष्य लिएको बताउँदै कोइरालाले फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने बताए ।