
पोखरामा प्रचण्ड कप आमन्त्रित राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गरे ।
उद्घाटन खेलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको समूह 'ए' अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको एनपिसीले प्रतिष्पर्धात्मक दोस्रो सेटमा एपीएफलाई २७-२५ ले हरायो ।
एनपिसीले एपीएफलाई तेस्रो सेट २५–१७ ले पराजित गर्दै ३—० को सोझो सेटमा जित निकाल्यो ।
दोस्रो खेलमा समूह ‘बी’ अन्तर्गत टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लब प्रतिष्पर्धामा उत्रिएका छन् ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब, स्टेप रामपुर क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब छन् भने समूह ‘बी’ मा टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल जेठ ३१ गते हुनेछ ।
प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए । एकेडेमीको माध्यमबाट नेपालको लोकप्रिय खेल तथा राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको कोइरालाले बताए ।
आगामी दिनमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकेडेमीले लक्ष्य लिएको बताउँदै कोइरालाले फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने बताए ।