
पोखरामा मंगलबारदेखि सुरु भएको प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब विजयी भएको छ ।
एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै न्यु डायमण्डले विजयी यात्रा सुरु गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा न्यु डायमण्डले एभरेस्ट क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
सहज रुपमा पहिलो सेटमा न्यु डायमण्डले एभरेस्टमाथि २५—११ ले जित हासिल गर्यो । न्यु डायमण्डले दोस्रो सेट २५—१८ र तेस्रो सेट २५—१० ले सहज जित निकाल्न सफल रह्यो ।
यसअघि आजै भएको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्ल्बले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आजदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन भोलि पहिलो खेल एनपिसी र स्टेप रामपुर क्लबबीच हुनेछ । उक्त खेल दिउँसो तीन बजे सुरु हुनेछ । भोलिको दोस्रो खेल टिप्टप न्यु डायमण्ड र गण्डकी प्रदेशबीच दिउँसो पाँच बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब, स्टेप रामपुर क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब छन् भने समूह ‘बी’ मा टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल जेठ ३१ गते हुनेछ ।
प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।