
साउदी अरबको खजुर स्याङ्जामा फलेको छ । बालुवा तथा मरुभूमिमा उम्रने खजुर स्याङ्जाको गल्याङ् नगरपालिका -११ जिमुवामा लटरम्मै फलेको छ ।
रोजगारका लागि साउदी पुगेका करिब ६० वर्षीय बाबुराम ढकालले घर आउँदा खजुरको बिउ लिएर आएका थिए । बालुवासहित मलमाटो मिलाएर बिउ जमाए । जमाएको बिउमध्ये दुईवटा बिउ बढेर उत्पादन दिने भए । गतवर्ष अलिअलि फलेको खजुर यसपटक लटरम्मै फलेको छ ।
मरुभूमिभन्दा केही बाहिर खजुर फलेको देखेपछि आफ्नो जन्मभूमिमा पनि हुन्छ होला भन्ने लागेर केही खजुरका बीउ लिएर आएको उनले बताए । खजुरका लागि घाम पर्ने जग्गा चाहिन्छ । यसले ४०–४५ डिग्री तापक्रम पनि सहन सक्छ । विशेषगरी मरूभूमिमा उम्रिने भएकाले पानी चाहिँदैन । ढकालले पनि जिमुवामा खजुर लगाउँदा बालुवासहित मलमाटो मिलाएर रोपेको बताए ।
'रोपेको ७ वर्षमा फल दिएको छ । गतवर्ष अलिअलि फलेको थियो । अहिले भने असाध्यै राम्रो फलेको छ । अब खजुर खेती विस्तार गर्नेछु,' उनले भने । उनले आँप, लिची,कटहरलगायत अन्न तथा तरकारी पनि उत्पादन गर्दै आएका छन् ।
जिमुवामा खजुर फलेपछि अन्य किसान पनि हर्षित बनेका छन् । कृषि बिउ उत्पादन फर्मका सञ्चालक रुमलाल कँडेलले यसपटकको फललाई राम्रोसँग पाक्न दिएर बिउ उत्पादन गर्नेगरी छलफल भइरहेको बताए ।