
नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबले पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।
गण्डकी र एभरेस्टबीच बिहीबारको दोस्रो खेलमा गण्डकीलाई जितेसँगै एभरेस्ट क्लब सेमिफाइनल प्रवेश गरेको छ । समूह `बी´ मा रहेको गण्डकी प्रदेश टीम भने बाहिरिएको छ । समूह `ए´ बाट टीम एनपिसी पनि सेमिफाइनल पुगिसकेको छ ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको अन्तिम खेलमा एभरेस्टले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–२१ ले गुमाएको एभरेस्टले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल रह्यो । एभरेस्टले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१२ र चौथो सेट २५–१४ ले जितेको हो । सेट र अंकका आधारमा न्यु डायमण्ड समूह विजेता र एभरेस्ट क्लब उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
समूह ‘बी’ अन्तर्गत न्यु डायमण्डले पहिलो खेलमा एभरेस्टलाई ३–० को सोझो सेटमा र दोस्रो खेलमा गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । हिजो भएको खेलमा एभरेस्टले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो ।
यसअघि समूह `ए´ बाट सशस्त्र प्रहरी बल (एपीएफ) र एनपिसीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । एनपिसी समूह विजेता र एपीएफ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । दुई खेलमा पराजित भएको स्टेप रामपुर कल्ब भने प्रतियोगिताबाट बाहिरियो ।
सेमिफाइनलका खेल आज हुनेछन् । पहिलो सेमिफाइनल समूह `ए´ को विजेता एनपिसी र समूह `बी´ को उपविजेता टीम एभरेस्टबीच हुनेछ । उक्त खेल दिउँसो तीन बजेबाट सुरु हुनेछ ।
दोस्रो सेमिफाइनल खेल समूह `बी´ विजेता टिपटप न्यु डायमण्ड र समूह `ए´ उपविजेता टोली सशस्त्र प्रहरी बल (एपीएफ) बीच हुनेछ । उक्त खेल दिउँसो ५ बजे सुरु हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।