Syangja Dainik Media
प्रचण्ड कप भलिबल: एभरेस्ट क्लबलाई हराउँदै एनपिसी फाइनलमा
तस्बिर: खेलपाटी

नेपाल पुलिस क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एनपिसीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

SDO_SYJ ADS

एनपिसीले एभरेस्ट क्लबलाई पहिलो सेट २५-१६, दोस्रो सेट २५-१३ र तेस्रो तथा २५-११ ले पराजित गर्दै जित निकाल्न सफल रहेको थियो ।

दोस्रो सेमिफाइनल खेल टिपटप न्यु डायमण्ड र सशस्त्र प्रहरी बल (एपिएफ) बीच भइरहेको छ । न्यु डायमण्ड समूह ‘बी’ को विजेता र एपिएफ समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update