Syangja Dainik Media
प्रचण्ड कप भलिबल: उपाधिका लागि दुई विभागीय टोली एपीएफ र पुलिस भिड्ने, न्यु डायमण्ड एपीएफसँग पराजित
तस्बिर: खेलपाटी

पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) फाइनलमा प्रवेश गरेको छ ।

नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको दोस्रो सेमिफाइनल खेलमा टिपटप न्यु डायमण्डलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो ।

SDO_SYJ ADS

दोस्रो सेमिफाइनलमा एपीएफले न्यु डायमण्डलाई पहिलो सेट २५-१७, दोस्रो सेट २६-२४ र तेस्रो तथा २५-१९ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । एपीएफले अब उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

यसअघि भएको पहिलो सेमिफाइनलमा एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाइसकेको छ ।

पुलिसले एभरेस्टमाथि पहिलो सेट २५-१६, दोस्रो सेट २५-१३ र तेस्रो सेट २५-११ ले सहज जित निकाल्न सफल रहेको थियो ।

तेस्रो स्थानका लागि र फाइनल खेल शनिबार हुनेछ । पुलिस र एपीएफबीच फाइनल खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यस्तै, तेस्रो स्थानका लागि एभरेस्ट र न्यु डायमण्डबीचको खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update