
पोखरामा सञ्चालित प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपाल `एपीएफ´ ले जितेको छ ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बल नेपाल `एपीएफ´ ले उपाधि जितेको हो ।
एपीएफले पुलिसमाथि पहिलो सेट २५-१९, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१३ ले सहज जित निकाल्दै प्रतियोगिताको उपाधि हासिल गर्न सफल भयो ।
उपाधि जितेको एपीएफले ट्रफीसहित छ लाख रुपैयाँसहित हात पार्यो । उपविजेता बनेको पुलिसले ट्रफी र तीन लाख रुपैयाँमा चित्त बुझायो ।
यसअघि एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको थियो । एभरेस्टमाथि न्यु डायमण्डले पहिलो सेट २५-८, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-११ ले सहज जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने न्यु डायमण्डले एक लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।
प्रतियोगितामा एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले तीस हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, एपीएफकी सृष्टि खड्की उत्कृष्ट सर्भर, न्यु डायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जशना महतो उत्कृष्ट सेटर, न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र एपीएफका पुष्प जंग मल्ल उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही बीस हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए ।
प्रतियोगितामा छ टीमको सहभागिता रहेको थियो । गण्डकी प्रदेश टीम, टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, स्टेप रामपुर टीम र दुई विभागीय टीमहरु नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल नेपालको `एपीएफ´ टीम सहभागी थिए ।