Syangja Dainik Media
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने चार चालक पक्राउ

लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने चारजना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका -१ बसपार्कस्थित सिद्धार्थ राजमार्गमा चेकिङको क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्‍यादित र भरपर्दो बनाउने उद्देश्यले “ला.प.से. चेकिङ अभियान” अन्तर्गत गरिएको चेकजाँचमा लापसे गरी सवारीसाधन चलाउनेलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

SDO_SYJ ADS

टीएचसी (टेट्राहाइड्रोकैनाबिनोल) टेस्ट कीट (युरिन) द्वारा लापसे गरे/नगरेको चेकजाँच गर्दा २४ जना निजी तथा सार्वजनिक सवारीसाधन चालकमध्ये चारजना चालकले लापसे (गाँजा सेवन) गरी सवारीसाधन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताए ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. -२७ का २५ वर्षीय इभि भ्यान चालक विजय राना मगर, चितवन कालिका नगरपालिका वडा नं. -८ का २३ वर्षीय जिप चालक सुदिप पुलामी मगर, चितवन ईच्छाकामना गाउँपालिका वडा नं. -६ का २२ वर्षीय जिप चालक सन्दिप गुरुङ र स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. -७ का २३ वर्षीय इभि चालक संगम थापा रहेको प्रवक्ता चौधरीले बताए ।

प्रवक्ता चौधरीले लापसे गरी सवारीसाधन चलाउने चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडी बढाइएको बताए ।

यसअघि पनि पटकपटक प्रहरीले लापसे गरी सवारीसाधन चलाउने चालकहरुलाई पक्राउ गर्दैआएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update