Syangja Dainik Media
स्याङ्जाका प्रहरी हवल्दार तिमिल्सिना जेठ महिनाको उत्कृष्ट प्रदेश प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवल्दार युवराज तिमिल्सिना उत्कृष्ट प्रदेश प्रहरी घोषित हुँदै जेठ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ को रूपमा सम्मानित भएका छन् ।

नेपाल प्रहरी संगठनले सांगठनिक नीति निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण रूपमा लगनशील, इमानदार, बफादार, कर्तव्यनिष्ठ भई प्रहरी कार्य तथा समाजमा शान्ति सुरक्षा कायम गर्नमा प्रभावकारी भूमिका बहन गरी सर्वसाधारण नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउने तथा आमनागरिकका माझ प्रहरी संगठनको श्रीवृद्धिमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै हवल्दार तिमिल्सिनालाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।

SDO_SYJ ADS

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रदेशभरका प्रहरी कर्मचारीहरु मध्येबाट स्याङ्जामा कार्यरत हवल्दार तिमिल्सिनालाई २०८२ साल जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

तिमिल्सिनाले २०८२ साल जेठ महिनामा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १२ जना र चोरीमा संलग्न एकजना व्यक्तिलाई पक्राउ गरी फैसला कार्यान्वयन तथा चोरी नियन्त्रण गर्ने कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गरी कानुनी दायरामा ल्याउन सफल भएको जनाइएको छ ।

उक्त कार्यहरुको मूल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवल्दार तिमिल्सिनालाई ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ बमोजिम २०८२ साल जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

वि. सं. २०७८ सालदेखि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत हवल्दार तिमिल्सिनाले जिल्लामा लागुऔषध ओसारपोसार, नियन्त्रण, अवैध हतियार बरामद, फरार प्रतिवादीहरू पक्राउलगायतका कामहरूमा नेतृत्वदायी भूमिकासहित सूचना व्यवस्थापन र प्रहरी–सर्वसाधारणबिच प्रभावकारी समन्वयमा सक्रिय रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update