
स्याङ्जाको आँधीखोला गाउँपालिका –५ स्थित आँधीखोला इङ्लिस बोर्डिङ स्कुलमा “सिक्दै सिकाउँदै अगाडि बढ्ने यात्राको अर्को पाइला” भन्ने मूल सारलाई आत्मसाथ गर्दै “पढ्दै कमाउँदै अभियान” सुरु भएको छ ।
उद्यमशीलता अभियानअन्तर्गतको पहिलो पाइला नेपाल, पोखरा शाखाको आयोजनामा “सिक्दै सिकाउँदै अगाडि बढ्ने यात्रा” अन्तर्गत आँधीखोला इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूसँग “कर्म शिक्षा: विद्यार्थीसङ्ग पढ्दै कमाउँदै” भन्ने अभियान जोड्दै कृषिसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीलाई नर्सरि ब्याड निर्माण, वेस्ट टु बेस्ट, झोलमल बनाउने तरीका साथै सयपत्री खेती गरेर कमाउने बाटो सिर्जना गर्नेलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
सो कार्यक्रममा विद्यार्थीहरुले ४० वटा पोलिब्यागमा घिउ सिमि र एक सयभन्दा बढि सयपत्री फुलको बिउ जमाएका थिए । कार्यक्रममा प्रशिक्षण पहिलो पाइला नेपाल पोखरा शाखाका सचिव विमान अर्याले दिएका थिए ।
सो अवसरमा विद्यालयकी प्रधानाध्यापक स्मृति काफ्लेले विद्यालयले कर्म शिक्षालाई महत्व दिइरहेको र विद्यार्थीहरुलाई कृषि खेतीसम्बन्धी ज्ञान दिएर विद्यार्थीहरुले आफ्नै मेहनतले तरकारी खेती गरी विद्यालयमा नै तरकारी तथा सयपत्री फुल आफैं उत्पादन गर्न सक्ने बनाउने विद्यालयको तयारी रहेको बताइन् ।
सोही क्रममा काफ्लेले पहिलो पाइला नेपाल परिवारलाई धन्यवाद दिँदै यस्ता अभियानहरुलाई विद्यालयमा निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।