
बर्खा लागेसँगै मनसुनजन्य विपदका घटना सुरु भएका छन् । विपद प्रतिकार्यमा सबैभन्दा अग्रस्थानमा रहने प्रहरी, सेनालगायतका सुरक्षा निकाय रहने गर्छन् । जनताको जीउधनको सुरक्षामा खटिने प्रहरी स्याङ्जा जिल्लामा आफैँ जोखिमपूर्ण तरिकाले रात गुजार्नुपर्ने बाध्यतामा छन् ।
यहाँको भीरकोट नगरपालिका –२ मा विसं २०२८ मा बनेको करिब ५४ वर्ष पुरानो र जीर्ण भवनमा रहेको प्रहरी चौकी दहथुमका प्रहरी त्रिपालले ढाकेर सुत्न बाध्य छन् । जीर्ण भवनमा बर्खाको समयमा पानी चुहिने हुनाले त्रिपालले ढाकेर बस्नु परेको उनीहरू बताउँछन् ।
विसं २०६३ मा शान्तिवार्तापछि पुनस्र्थापना भएको यस प्रहरी चौकीमा शौचालय र खानेपानीको समस्यासमेत छ । कृषि ज्ञान केन्द्र स्याङ्जाको स्वामित्वमा रहेको भवनमा नेपाल प्रहरी र ट्राफिक प्रहरीका कर्मचारी त्रासपूर्ण तरिकाले बस्दै आएका छन् । खिया लागेका छतका डन्डीसमेत देखिने गरी चर्किएको र कतिबेला खस्ने हो भन्ने जोखिममा प्रहरीले रात गुजार्नुपर्ने बाध्यता छ । यद्यपि यहाँका प्रहरी कर्मचारी भने खासै टिप्पणी गर्न चाहँदैनन् ।
कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको कित्ता नं. ६०० र १८८४ बाट प्रहरीका निम्ति आवश्यक पर्ने तीन रोपनी जग्गा उपलब्ध गराउन पटकपटक माग भएपनि सरोकारवाला निकायको बेवास्ताका कारण प्रहरी अझै पनि जीर्ण भवनमा सुत्न बाध्य भएका हुन् । उक्त जग्गा गृह मन्त्रालयको स्वामित्वमा नआएसम्म प्रहरीका निम्ति स्थायी र नयाँ संरचना बनाउन नमिल्ने भएकाले भवन बनाउन समस्या बनेको हो ।
यस्तै, अर्जुनचौपारी गाउँपालिका –४, रापाकोट प्रहरी चौकीमा कार्यरत प्रहरी ७० वर्ष पुरानो र भूकम्पले जीर्ण कच्ची भवनबाट सेवा दिन बाध्य छन् । विसं २०६३ मा पुनस्र्थापना भएको यो प्रहरी चौकीको भवन चर्किएको छ भने घरमा रहेका काठ मक्किएर कुनै भाँचिएका छन् त कुनै भाँचिने अवस्थामा छन् ।
जिल्लाभर जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोटसहित ३५ वटा प्रहरी युनिट रहेकामा एक दर्जन प्रहरी युनिटले दहथुम र रापाकोटजस्तै जोखिम मोलेर सेवा दिनु परेको छ । यहाँको जैपते, कालिकाकोट, पौवेगौडे, चित्रेभन्ज्याङ, फेदीखोला, मल्याङकोट, पञ्चमूल, पिडीखोला, जिल्ला ट्राफिकलगायतका प्रहरी चौकीले जोखिम मोलेर सेवा दिएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जोखिममा रहेका चौकीलाई नयाँ ठाउँमा राख्ने तयारी रहेको बताएका छन् ।