Syangja Dainik Media
स्थानीयको विद्युत महशुल गाँउपालिकाद्वारा अग्रिम भुक्तानी

स्याङ्जाको कालीगण्डकी गाँउपालिकाले आफ्नो पालिकाभित्रका सम्पूर्ण घरधुरीको विद्युत महशुल अग्रिम भुक्तानी गरेको छ । उज्यालो कालीगण्डकी गाँउपालिका निर्माणको निम्ति पालिकाले स्थानीय ४७०० घरधुरीका जनताहरुको पौष महिनासम्मको न्युनतम महशुल अग्रिम भुक्तानी गरेको हो ।

गाँउपालिकाले विद्युतको न्युनतम महशुल अग्रिम भुक्तानी बुझाएपछि यहाँका स्थानीयले प्रति २० युनिटसम्मको विद्युत महशुलमा छुट पाउने भएका छन् ।

पाँच वर्षदेखि निरन्तरता पाइरहेको उक्त कार्यक्रम छैटौं वर्षमा प्रवेश गर्दा कालीगण्डकीबासी स्थानीयलाई कुनै नौलो नभएतापनि न्युनतम विद्युत महसुल बुझाउन नसक्ने स्थानीय र त्यहाँभन्दा माथि प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागी निकै फलदायी भएको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाको भनाइ छ । 

पहिलो पटकको चुनावी प्रतिबद्धता मध्ये उज्यालो कालीगण्डकी पनि एक रहेकोले त्यसलाई निरन्तरता दिई कोही अँध्यारोमा नरहुन् भन्ने उद्देश्यले उक्त कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष थापाले बताए ।

उज्यालो कालीगण्डकी अन्तर्गतको यो अभियानले यहाँ बस्ने २१ हजार ७२८ स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । न्युनतम २० युनिटसम्म विद्युत महशुलमा छुट दिँदै आएको कालीगण्डकी गाँउपालिकाले स्थानीय सरकारको पालिकाभित्र बसोबास गर्ने स्थानीयलाई स्वास्थ्य बीमा बापत लाग्ने शुल्क पनि पालिकामार्फत नै बुझाइदिने गरेको छ ।

राज्यमार्फत नै आम नागरिकले पाउनुपर्ने यस्ता खाले सुविधा कालीगण्डकी गाँउपालिकाले प्रदान गर्दे आएपछि यहाँका नागरिकले स्थानीय सरकारको अनुभूति गर्न थालेका छन् । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update