Syangja Dainik Media
पुतलीबजार – दुलेगौंडा सडकखण्ड कालोपत्रे

स्याङ्जाको पुतलीबजार नगरपालिका –१, शिक्षाचोकबाट काल्खु हुँदै तनहुँको शुक्लागण्डकी दुलेगौँडा जाने स्याङ्जा खण्डको सडक कालोपत्रे भएको छ ।

यो सडक विश्व बैँकको ऋण सहयोगमा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना काठमाडौँ अन्तर्गत पुतलीबजार नगरपालिकाले कालोपत्रे गरेको हो । विश्व बैँकको ऋणमा सरकारले आयोजनामार्फत देशका १७ नगरपालिकाका २१ वटा सडक कालोपत्रे गर्ने गरी काम अगाडि बढाएकोमा यो एउटा सडक हो ।

निर्माण कम्पनीले २०८० चैत २७ गते १५ महिनामा सक्ने गरेर पुतलीबजार नगरपालिकासँग सम्झौता गरेको थियो । इन्जिनियर सुदीप बरालले सडक ४६ करोड तीन लाख ८९ हजार ६९ रुपैयाँमा सडक निर्माण सकेको बताए । सडकको मुख्य काम सम्पन्न भएको छ भने सामान्य काम बाँकी छन् ।

नगर प्रमुख तुलसीराम रेग्मीले योजना निर्धारित समयमा पूरा भएको बताए । आगामी आर्थिक वर्षका लागि समेत १२ करोड ८१ लाख ८१ हजार रुपैयाँ कालेपत्रेका लागि विनियोजन भएको बताउँदै रेग्मीले स्याङ्जा खण्डको अझै पाँच किलोमिटर कालोपत्रे बाँकी रहने बताए ।

यो सडक दुलेगौँडा जोडिएसँगै पोखरा हुँदै काठमाडौँ जाने यात्रुलाई ५७ किमी लामो सडक ४० किमीमा छोटिने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update