
नेपालकै पहिलो नवग्रह तथा पञ्चकन्या मन्दिर परिसरमा २७ नक्षत्रका बिरुवा रोपण गरिएको छ ।
हरिशयनी एकादशीको अवसरमा आइतबार नक्षत्र वाटिकाको स्थापना गर्ने उद्देश्यले विशेष वृक्षारोपण गरिएको हो ।
धार्मिक भाव, पर्यावरणीय चेतना र सांस्कृतिक पुनर्जागरणको अद्भुत संगम बनेको यस अवसरमा २७ वटै नक्षत्रसँग सम्बन्धित बिरुवा विधिपूर्वक पूजा गरेर रोपिएको हो ।
नवग्रह मन्दिर व्यवस्थापन समिति र पञ्चकन्या मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पिपल, तुलसी, आमलगायतका पवित्र वनस्पतिहरू पनि यो अवसरमा रापिएको हो ।
१०८ पिपल रोप्ने संकल्पअनुसार केही पिपल बिरुवाको सङख्या अझै अपुग रहेकोले, आगामी एकादशीमा थप वृक्षारोपण गरिने पञ्चकन्या मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामु विष्ट क्षेत्रीले जानकारी दिए ।
वृक्षारोपण कार्यलाई नक्षत्रको दिशानिर्देश अनुसार विधिपूर्वक पूजा–विधान सम्पन्न गरी सम्पादन गरिएको थियो । उपस्थित श्रद्धालु, साधक, समितिका पदाधिकारी तथा भक्तजनहरूको सहभागितामा पवित्रता, शुद्धता र संस्कारको अभूतपूर्व झल्को देखिएको थियो ।
नक्षत्र वाटिकापछि राशि वाटिका र नवग्रह वाटिका पनि निर्माण गर्ने बताउँदै बिष्टले यो स्थानलाई नेपालकै नमुना धार्मिक–प्राकृतिक अध्ययनस्थलको रूपमा विकसित गर्ने बताए ।
यस कार्यले भावी सन्ततिलाई आध्यात्मिक चेतना र प्रकृतिप्रेम सँगै संस्कारयुक्त जीवन मूल्यको पाठ सिकाउने देखिन्छ ।