Syangja Dainik Media
तनाव बढ्दै, आत्महत्या चुलिँदै: आत्महत्याका घटना बढेपछि रोक्न प्रहरी सक्रिय

स्याङ्जामा आत्महत्याका घटनाहरू बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तनाव व्यवस्थापनसम्बन्धी एकदिने विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । यहाँको पुतलीबजार नगरपालिका –१३ स्थित लाम्पाटा बजार व्यवस्थापन समितिको सहकार्यमा शनिबार सम्पन्न कार्यक्रममा मानसिक सन्तुलनको ख्याल राख्नुपर्ने विषयमा गम्भीर छलफल गरिएको थियो ।

कार्यक्रममा स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले तनाव व्यवस्थापनमा चासो नदिँदा आत्महत्या र गम्भीर मानसिक तथा शारीरिक समस्या निम्तिने बताए । उनले भने, "तनावलाई बेलैमा बुझेर व्यवस्थापन गर्न सकियो भने न त मानसिक सन्तुलन गुम्छ, न त जीवन!"

Stress-management-training-sdpo1-1752391111.jpg

प्रहरी उपरीक्षक न्यौपानेले विभिन्न भिडियो क्लिप र कार्यपत्रमार्फत सकारात्मक सोच, आत्मनियन्त्रण र सन्तुलनमा आधारित जीवनशैली अपनाउने उपायहरू समेत प्रस्तुत गरे ।

कार्यक्रममा वडा अध्यक्ष जुद्धबहादुर थापा, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दीपक लम्साल, तथा अन्य वक्ताहरूले प्रशिक्षणबाट सिकिएको ज्ञान परिवार र समुदायमा फैलाउनु पर्नेमा जोड दिए ।

कार्यक्रम लाम्पाटा बजार व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रमान श्रेष्ठको अध्यक्षता, सल्लाहकार मिनप्रसाद अर्यालको स्वागत मन्तव्य र सचिव भीम रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update