Syangja Dainik Media
२०८० को घटना: श्रीमानद्वारा बालिकामाथि बलात्कार, ढाकछोप गर्न खोज्ने श्रीमतीलाई २ महिना २३ दिन कैद

विसं २०८० सालमा स्याङ्जामा घटेको एक आपराधिक घटनाले पुन: चर्चा पाएको छ । २०८० सालमा भएको जबरजस्ती करणी घटनामा संलग्न भई १५ महिनादेखि फरार रहेकी पुतलीबजार नगरपालिका–१३ की ५४ वर्षीया खुमा (खुम कुमारी दर्जी) बिहीबार पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार, खुमा उनका श्रीमान् रामेश्वर नेपालीले भदैनी पर्ने एक बालिकामाथि स्वास्थ्य परीक्षणको बहानामा जिल्ला अस्पताल लैजाँदा बलात्कार गरेको घटनामा संलग्न थिइन् ।

स्याङ्जाका प्रहरी उपरीक्षक(एसपी) दधिराम न्यौपानेका अनुसार, घटना बाहिरिएपछि उनले उक्त आपराधिक कार्यलाई ढाकछोप गर्दै मिलापत्र गर्ने प्रयास गरेकी थिइन् । गाउँमा छलफल गरी औषधोपचार र पालनपोषण गर्ने सर्तमा अस्पताल पुर्याएको दाबी गरेकी थिइन् ।

तर, घटनालाई लुकाएर परिवारमै मिलाउन खोजेको देखिएपछि प्रहरीले खुमालाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

अदालतको फैसला: श्रीमानलाई १८ वर्ष, श्रीमतीलाई २ महिना २३ दिन कैद
जिल्ला अदालत स्याङ्जाले २०८१ वैशाख १६ गतेको फैसलामा रामेश्वर नेपालीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो । उनी हाल स्याङ्जा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

खुमालाई भने २ महिना २३ दिन कैद सजाय तोकिएको थियो । तर फैसला लागू नहुँदै खुमा फरार भएकी थिइन् ।

विशेष अपरेसन टोलीद्वारा पक्राउ 
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेकी खुमालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले बिहीबार पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक तथा स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रसन्न राज चौधरीका अनुसार, “अदालतका फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायिक कारबाहीलाई पूर्णता दिई सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितता गर्नका लागि प्रहरीको प्रयास जारी छ।”

पक्राउ परेकी खुमालाई कैद सजाय भुक्तानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update