Syangja Dainik Media
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका वडा नम्बर–१ स्थित सिम्लेमा गत असार १० गते दुलेगौंडा–बिरुवा ग्रामीण सडकखण्डमा एक बोलेरो जीप रोकी तोडफोड र यात्रुमाथि कुटपिटमा संलग्न दुई जना फरार अभियुक्तलाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, जीपमा सवार दुई यात्रुलाई कुटपिट गरी घाइते बनाएको आरोपमा फरार रहेका स्याङ्जाका दुई युवालाई आज शुक्रबार लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकामध्ये एक जना बिरुवा गाउँपालिका–५ तल्लोचेप्टे बस्ने २७ वर्षीय विक्रम राना र अर्का हरिनाश गाउँपालिका–१ सालडाँडा हटियाका २१ वर्षीय सविन उर्फ योगेन्द्र मानन्धर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका उनीहरूलाई खोजतलास गर्दै जाँदा कास्कीमा लुकिरहेका अवस्थामा फेला पारिएको हो । पक्राउपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप अनुमतिसहित उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको  प्रहरी नायव उपरीक्षक तथा स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update