
नेपालकै पहिलो नवग्रह मन्दिर र पञ्चकन्या मन्दिर परिसरमा शनिबार एक विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ, जसमा राशि र नवग्रह वाटिका स्थापनाको लक्ष्यसहित धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको अद्भुत संगम देखिएको छ ।
कार्यक्रममा १२ राशि र ९ ग्रहसँग सम्बन्धित वृक्षहरू शास्त्रीय मन्त्रोच्चारणसहित विधिपूर्वक पूजा गरेर रोपिएका छन् । यसअघिनै २७ वटा नक्षत्र वृक्षहरू रोपिसकिएको जानकारी समितिका सचिव लालबहादुर क्षेत्रीले दिए ।
उक्त कार्यक्रम नवग्रह मन्दिर व्यवस्थापन समिति र पञ्चकन्या मन्दिर व्यवस्थापन समितिको संयुक्त समन्वयमा भीरकोट जेसीजको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा शास्त्रीय विधिअनुसार दिशानिर्देश पालना गर्दै वृक्षारोपण गरिएको थियो, जसमा भीरकोट जेसीजका सदस्यहरू, समितिका पदाधिकारीहरू र स्थानीय भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियो ।
नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले भने, “अब हामीले नक्षत्र, राशि र नवग्रह तीनवटै वाटिका स्थापना गरेका छौँ । हाम्रो लक्ष्य यो स्थललाई नेपालकै नमुना धार्मिक–प्राकृतिक अध्ययन केन्द्रका रूपमा स्थापित गर्नु हो ।”
यस्तै, भीरकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष तारा अर्यालले यस अभियानले भावी पुस्तालाई अध्यात्म, प्रकृति संरक्षण र संस्कारयुक्त जीवनमूल्यको गहिरो सन्देश दिने विश्वास व्यक्त गरे ।
यस कार्यक्रमलाई धार्मिक वृक्ष परम्पराको पुनर्जागरण, हरियाली अभियान र सांस्कृतिक चेतनाको अद्वितीय पहलका रूपमा हेरिएको छ ।