Syangja Dainik Media
९० करोडको लक्ष्यसहित सुर्योदय सहकारीको वार्षिक समीक्षा तथा बजेट योजना सम्पन्न

स्याङ्जाको सुर्योदय बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा २०८२/८३ को वार्षिक बजेट र योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार पुतलीबजार नगरपालिका –३ स्थित सहयात्री पार्टी प्यालेसमा आयोजित कार्यक्रममा संस्थाका मुख्य व्यवस्थापक ध्रुव नारायण श्रेष्ठले विगत आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै चालू आर्थिक वर्षको योजना र भावी रणनीति सार्वजनिक गरे ।

कार्यक्रम सहकारीका संरक्षक अनन्तकुमार श्रेष्ठको सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा पाँचवटै सेवा केन्द्रका प्रमुखहरूले आ–आफ्नो सेवा क्षेत्रको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संयोजकहरूले राय, सुझाव तथा सल्लाहहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हुमबहादुर कुमालले गरेका थिए । सो अवसरमा राममाया अधिकारी गोदारले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाका सचिव मिरा मल्लले गरेकी थिइन् । धन्यवाद ज्ञापन केन्द्रीय सदस्य ओमप्रकाश सापकोटाले गरेका थिए ।

कार्यक्रममा बचत प्रमुख तथा स्याङ्जा सेवा केन्द्रका प्रमुख मोति प्रसाद मरासिनीले चालू आर्थिक वर्षमा ९० करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य रहेको जानकारी गराउँदै सहकारीको वित्तीय विस्तार र सदस्य सशक्तीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं. २०५५ सालमा ३ जनाले जम्मा ६० रुपैयाँबाट स्थापना गरेको उक्त सहकारी संस्था हाल ८० करोड रुपैयाँ बराबरको कारोबारमा पुगिसकेको छ । हालसम्म यस सहकारीमा ११ हजार ५ सय ५३ जना सदस्य आवद्ध छन् ।

स्थानीय आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको सुर्योदय सहकारीले आगामी दिनमा समेत समुदायकेन्द्रित, पारदर्शी र दिगो वित्तीय सेवा प्रवाह गर्दै अघि बढ्ने योजनासहित यो कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update