Syangja Dainik Media
सडक नालीमा मोटरसाइकलसहित एकको शव फेला

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका –२ बाँसकोटस्थित भित्री सडकखण्डको नालीमा मोटरसाइकलसहित एक पुरुषको शव फेला परेको छ ।

स्थानीयवासीले दिएको जानकारीअनुसार ग ८ प २५७ नम्बरको मोटरसाइकल नालीमा भलपानीले पूरिएको अवस्थामा फेला परेको थियो । मोटरसाइकलको अगाडिको टायर मात्र देखिने गरी डुबेको देखिएको र त्यही मोटरसाइकलले च्यापिएजस्तो अवस्थामा एक व्यक्तिको एक घुँडामात्र देखिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

नालीको भलपानी बन्द गरी खोजतलास गर्दा सो मोटरसाइकलका चालक शिलबहादुर कार्की (उमेर करिब ६०–६२ वर्ष) मृत अवस्थामा फेला परेका हुन् । उनी अर्जुनचौपारी –२ खाल्टेका स्थायी बासिन्दा रहेको र सो परिचय उनकै कान्छा भाइले पुष्टि गरेका हुन् ।

शवको पहिचानसँगै प्रारम्भिक जानकारीअनुसार शिलबहादुर कार्की साउन १८ गते साँझ ४ बजे घरबाट निस्केका थिए । उनी इन्टरनेटको तार व्यवस्थापन (नेटको काम) गर्दै हिँड्ने गरेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update