Syangja Dainik Media
गल्याङ जेसीजलाई ‘गोल्ड अवार्ड’: नेतृत्व र समाजसेवाको चम्किलो परिचय

स्थानीय स्तरमै उल्लेखनीय सामाजिक योगदान, प्रभावकारी नेतृत्व विकास तथा युवामैत्री कार्यक्रमहरूमार्फत समाज रूपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको गल्याङ जेसीज नेपाल जेसीजबाट ‘गोल्ड अवार्ड’ प्राप्त गर्ने संस्था बनेको छ ।

वि.सं. २०७५ मा स्थापना भई ‘समाजका लागि नेतृत्व’ भन्ने नाराका साथ अघि बढेको गल्याङ जेसीजले गत वर्ष (२०२५) मा सञ्चालन गरेका कार्यक्रमहरूको प्रभाव, नवप्रवर्तन र अभिलेखिकरणको समग्र मूल्याङ्कनका आधारमा नेपाल जेसीजले यो सम्मान प्रदान गरेको हो ।

संस्थाले १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई संगठित गरी समाजिक समावेशिता, महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण, संस्कृति संरक्षण, विपद् व्यवस्थापन, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन, बालमैत्री कार्यक्रम, नेतृत्व विकास तालिम, रक्तदानजस्ता विषयमा उल्लेखनीय काम गर्दै आएको छ ।

सहिद तथा प्रजातन्त्र दिवसमा दीप प्रज्वलन कार्यक्रम, श्रमिक सम्मान, माता सम्मान, विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरणलगायतका कार्यमार्फत जनभावनालाई आत्मसात् गर्दै स्थानीय स्तरमा आफ्नो पहिचान बनाउँदै आएको संस्था अहिले सामाजिक उत्तरदायित्व निर्वाहमा एक प्रेरणादायी संस्था बनिसकेको छ ।

नेपाल जेसीजले देशभरका शाखाहरूको कार्यशैली, नवाचार, पारदर्शिता र कार्यक्रमहरूको प्रभावका आधारमा गरेको समग्र मूल्याङ्कनपछि गल्याङ जेसीजलाई ‘गोल्ड अवार्ड’ द्वारा सम्मानित गरेको हो ।

अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकको नेतृत्वमा गल्याङ जेसीजले सुशासन, पारदर्शिता र नवदृष्टिकोणका साथ सामाजिक नेतृत्वलाई संस्थागत गर्दै आएको छ । सामाजिक सञ्जालमार्फत समेत सक्रिय गल्याङ जेसीजले फेसबुक, टिकटकलगायतका माध्यमबाट आफ्नो कार्यक्रम र सन्देशलाई आम जनतासम्म पुर्‍याउँदै आएको छ ।

संस्थाले प्राप्त गरेको यो अवार्डलाई प्रेरणा र जिम्मेवारीको स्रोतका रूपमा लिँदै आगामी दिनमा सामाजिक सेवा, युवा सशक्तिकरण र स्थानीय विकासमा अझ बढी समर्पित हुने प्रतिवद्धता जनाएको छ ।

गल्याङ जेसीज अहिले गल्याङको मात्र होइन, सिंगो स्याङ्जा र राष्ट्रकै गौरवको विषय बनेको छ — जहाँ नेतृत्व पदका लागि होइन, सेवाका लागि गरिन्छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update