Syangja Dainik Media
स्याङ्जा अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै, मुद्दा फछ्र्यौटमा गण्डकीमै उत्कृष्ट

स्याङ्जा जिल्ला अदालतमा परेका मुद्दामध्ये आधाभन्दा धेरै सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी रहेका छन् ।

अदालतमा आर्थिक वर्ष २०८१/८२ मा दर्ता गरिएका १००७ मुद्दामध्ये ५२१ मुद्दा सम्बन्ध विच्छेदका मात्रै रहेका श्रेष्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए । अदालतमा दर्ता भएका नयाँ मुद्दामध्ये ६० प्रतिशत सम्बन्ध विच्छेदकै रहेका छन् ।

पुराना जिम्मेवारीसहित सम्बन्ध विच्छेदका ६०८ मुद्दा रहेकोमा अब ९० मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । यस्तै, पुराना जिम्मेवारीसहित वैवाहिक सम्बन्ध अन्त्यका १०१ मुद्दा रहेकोमा अब २४ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा अदालतमा दर्ता भएका नयाँ मुद्दामा ६६ वटा अंशबण्डा, २२ वटा मानाचामल, लेनदेन ३० वटा, चेक अनादर र लिखित बदर १७/१७ वटा, घरेलु हिंसा ४, जालसाजी २५, जबरजस्ती करणी १७, बहुविवाह २, किर्ते २, लागू औषध १६, चोरी १७, कर्तव्य ज्यान १४, अभद्र व्यवहार ९, जग्गा सम्बन्धी १३, बैंकिङ कसुर १४ र अन्य (निषेधाज्ञा, वन सम्बन्धी मुद्दा, पुनरावेदन, जुवातास, मिलापत्र बदर, हातहतियार, दामासाही आदि) ११६ गरी एक हजार ७ वटा मुद्दा रहेका छन् ।

पुरानो जिम्मेवारी र नयाँसहित एक हजार ३५९ मुद्दा रहेकोमा एक हजार ४४ अर्थात् ७६.८२ प्रतिशत मुद्दा फछ्र्यौट भएको श्रेष्तेदार शर्माले बताए । उनले हाल ३१५ मुद्दा मात्र बाकी रहेको बताउँदै दुई वर्षभन्दा बढी पुराना मुद्दा कुनै पनि नरहेको जानकारी दिए ।

बिहीबार आयोजित कार्यक्रममा न्यायाधीश वासुदेव पौडेलले आर्थिक वर्ष ८१/८२ मा ६८ प्रतिशत मुद्दा फस्र्यौट गर्ने लक्ष्य राखिएकोमा झण्डै ९ प्रतिशत धेरै ७६.८२ प्रतिशत मुद्दा फस्र्यौट गर्न अदालत सफल भएको उल्लेख गर्दै मुद्दा फछ्र्यौटका आधारमा स्याङ्जा अदालत गण्डकी प्रदेशमै उत्कृष्ट अदालत बन्ने सफलता समेत हात पारेको बताए ।   

न्यायाधीश पौडेलले अदालतका कामकारबाहीबारे नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, सहि कामको प्रशंसा र त्रुटिपूर्ण कामको स्वस्थ आलोचना गरिदिन आग्रह गरे ।

न्याय सम्पादनलाई प्रभावकारी बनाउन सुझाव र सल्लाह दिन समेत आग्रह गर्दै उनले भने, “सार्वजनिक सहभागिता र पत्रकारको सहयोगले स्याङ्जा अदालत गण्डकी प्रदेशभरकै उत्कृष्ट बन्न सफल भएको हो ।” 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update