Syangja Dainik Media
चकचके स्कुटर चोर प्रहरीको फन्दामा, चोरीका मोबाइलसहित पक्राउ

स्याङ्जाको वालिङमा भएको स्कुटर चोरी प्रकरणमा संलग्न एक युवकलाई प्रहरीले चोरी गरिएको स्कुटर र मोबाइलसहित पक्राउ गरेको छ ।

वालिङ नगरपालिका –८ डुम्रीकोटबाट यहि साउन २० गते राति करिब १:३० बजे ग ११ प ६०२५ नम्बरको होंडा डिओ स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धानमा जुटेको वडा प्रहरी कार्यालय वालिङको टोलीले साउन २३ गते सोमबार उक्त चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्वत जिल्लाको बिहादी गाउँपालिका –३ रातामाटा स्थायी बसोबास गर्दै आएका २६ वर्षीय राजकुमार परियार रहेका छन् । उनलाई स्याङ्जा जिल्लाको वालिङ नगरपालिका –१० स्थित गाहाखोलाबाट नियन्त्रणमा लिई सोधपुछका क्रममा स्कुटर वालिङ –१४ फुलबारीमा लुकाई राखेको खुलाएपछि प्रहरी टोलीले सोही स्थानबाट हराएको स्कुटर फेला पार्न सफल भएको छ ।

पक्राउ परेका परियारको साथबाट चोरी गरिएका थप सामग्रीहरू समेत बरामद गरिएको छ । प्रहरीले उनलाई साथमा रहेको रेड्मी कम्पनीका दुई थान र रियलमी कम्पनीको एक थान गरी जम्मा तीन थान मोबाइल पनि विभिन्न स्थानबाट चोरी गरेको आरोपमा बरामद गरेको जनाएको छ ।

हाल उनलाई आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार यस घटनाले चोरीजस्ता आपराधिक गतिविधिमा संलग्न अपराधीहरू प्रहरीको निगरानीबाट उम्कन नसक्ने सन्देश दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update