
मकै बिउ उत्पादनको क्षेत्रमा स्याङ्जाले नयाँ कीर्तिमान कायम गरेको छ । एकै आर्थिक वर्षमा जिल्लामा तीन लाख छ हजार ४५० केजी मकै बिउ उत्पादन भएसँगै स्याङ्जा प्रदेशमै पहिलो मकै बिउ उत्पादन गर्ने जिल्लाको रूपमा स्थापित भएको हो ।
कृषि ज्ञान केन्द्र स्याङ्जा र कृषि स्रोत केन्द्रको प्राविधिक सहयोगमा यहाँका किसान, सहकारी र कृषक समूहको सक्रियताले यो सफलता हात लागेको हो । जिल्लाका १५ वटा फर्म, कृषक समूह र सहकारीमार्फत दुई हजार २५ रोपनीमा उन्नत र १८ रोपनीमा मूल बिउ उत्पादन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए ।
मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट जातका बिउ उत्पादनमा स्याङ्जाका विभिन्न पालिकाहरू सक्रिय भएका छन् । फेदिखोला गाउँपालिकामा मात्रै ९७ हजार ५ सय केजी मनकामना–३ उत्पादन भएको छ भने, अरुण–२ जातको सबैभन्दा धेरै उत्पादन गल्याङको जिमुवामा ९३ हजार ७५० केजी पुगेको छ ।
गल्याङ नगरपालिका –११ का कृषक रुमलाल कँडेलले ३० रोपनीमा चार टन बिउ उत्पादन गर्दै सबैभन्दा अगाडि रहेका छन् । जिमुवाकै चन्द्रकान्त डुम्रेको एक टन बिउ उत्पादनले पनि स्थानीय कृषकको उत्साह बढाएको छ । गत वर्षकै दर (प्रति केजी १२० रुपैयाँ) कायम भएमा यस वर्ष मात्रै बिउको मूल्य तीन करोड ६७ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।
कृषक नन्दकुमारी डुम्रेका अनुसार बिउ खेती सजिलो हुनुका साथै यसको आम्दानीले तीन गुणासम्म खान मकै किन्ने क्षमता दिने भएकाले किसान आकर्षित भएका हुन् । कृषि ज्ञान केन्द्रले बिउ उत्पादन गर्ने कृषकलाई ५० प्रतिशत छुटमा प्रजनन्, मूल बिउ र आवश्यक औजार उपलब्ध गराएको छ ।
उत्पादित बिउमध्ये ४० प्रतिशत छिमेकी जिल्लामा समेत बिक्री गर्न सकिने र अन्तिम निरीक्षणपछि प्रदेश बिउ–विजन गुणस्तर नियन्त्रण केन्द्र पोखराद्वारा बिक्री वितरण हुने जानकारी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विकास विकले दिए ।
पहिला-पहिला २८ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुने स्याङ्जामा अहिले १५ हजार ५४४ हेक्टरमा मात्रै मकै खेती भइरहेको भए पनि बिउ उत्पादनको आयतमा भने जिल्लाले ऐतिहासिक उचाइ हासिल गरेको देखिएको छ ।