Syangja Dainik Media
भालुपहाडस्थित शहीद पार्कमा वृक्षारोपण तथा सरसफाइ: हरियाली र स्वच्छताको अभियान

योङ्ग कम्युनिस्ट लीग ‘वाइसीएल’ नेपाल जिल्ला समिति स्याङ्जाको आयोजनामा सोमबार पुतलीबजार नगरपालिका -४ भालुपहाडस्थित शहीद पार्क परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा करिब एक सय ९२१ वटा लिची, आम, अमला, अम्बा, शीतलचिनी, चेरी, चिरचिरी लगायतका फलफूलका विरुवाहरू रोपिएका छन् ।

वृक्षारोपणसँगै शहीद पार्क वरपरको सरसफाइ, शहीद स्तम्भ र शहीद प्रतिक्षालयमा रंगरोगन तथा पाँच थान डस्टबिन स्थापना गरिएको वाइसीएल स्याङ्जाका अध्यक्ष अर्जुन तिवारी ‘सफल’ले जानकारी दिए । कार्यक्रममा करिब ६०–७० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शैलेन्द्र घिमिरेले वृक्षारोपण मात्र नगरी यसको संरक्षणमा समेत सबैको सरोकार हुनुपर्ने बताउँदै, “यो अभियानले वातावरण संरक्षणको व्यवहारिक अभ्यासलाई सुदृढ बनाउनेछ र हरियाली अभियानलाई निरन्तरता दिन सकेमात्र यसको वास्तविक उद्देश्य पूरा हुन्छ,” भन्ने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै, वाइसीएल नेपाल स्याङ्जा जिल्ला समितिका इञ्चार्ज जीवन थापाले शहीदको नाममा गरिएको यस्तो कार्यले भावी पुस्तामा वातावरणप्रेमी चेतना जगाउने विश्वास व्यक्त गर्दै भने, “सफा वातावरण र हरियालीको लागि सबै पक्ष एकजुट हुन आवश्यक छ । यस अभियानले केवल पार्क मात्र सुन्दर बनाउने होइन, सम्पूर्ण समुदायलाई सचेत बनाउने उद्देश्य बोकेको छ ।”

आयोजक समितिका अनुसार शहीद पार्कको भौतिक संरचना संरक्षण, वातावरणीय सन्तुलन कायम राख्ने र स्थानीय समुदायमा सफाइको संस्कार विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । स्थानीय बासिन्दाले पनि कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update