
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी राष्ट्रियस्तरको ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’ सूचीमा पर्न सफल भएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तिवारीलाई अवार्ड प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीबाट अवार्ड ग्रहण गर्दा तिवारीको अनुहारमा गर्व र जिम्मेवारी दुवैको झल्को देखिन्थ्यो ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भई नेतृत्वमा पुगेका तिवारी राजनीतिक मात्र नभई आर्थिक, सामाजिक र कूटनीतिक क्षेत्रसमेत सक्रिय मानिन्छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी सेयर व्यवसायमा ख्यातिप्राप्त विज्ञ थिए भने लामो समयदेखि होटल व्यवसायमा समेत सफल उद्यमीको रुपमा परिचित छन् ।
अध्यक्ष निर्वाचित भएपछि तिवारीले शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद र धार्मिक पर्यटनको उन्नतिमा विशेष ध्यान दिएका छन् । उनको एउटा साहसी कदम — नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण गरेर उनले आफ्नो पालिकासँगै स्याङ्जा र नेपाललाई विश्वमञ्चमा चिनाउने लक्ष्य राखेका छन् । कूटनीतिक सम्बन्धदेखि सामाजिक सेवा र आर्थिक विकाससम्म तिवारीको सक्रियता उनको बहुआयामिक क्षमताको प्रमाण हो ।
तिवारीको उद्यमशील सोच र नेतृत्व शैलीले उनलाई गाउँको सीमाना नाघेर राष्ट्रिय पहिचानमा पुर्याएको छ । देशमा नकारात्मक खबरका बीचमा पनि उनी जस्ता युवाले समाजमा सकारात्मक ऊर्जा भर्न सक्ने प्रमाणित गरेका छन् ।
देशमा चुनौतीपूर्ण परिस्थितिहरूका बाबजुद समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनलाइनखबरले गत वर्षदेखि यो ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’सूची सार्वजनिक गर्दै आएको हो । यस वर्ष तिवारीको नाम समावेश हुनु स्याङ्जा जिल्लाको गौरवको विषय बनेको छ ।