Syangja Dainik Media
पोखरामा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन

गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवर्द्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको सोमबार औपचारिक उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले कार्यालयको उद्घाटन गर्दै स्वतन्त्र प्रेसलाई लोकतन्त्रको मेरुदण्डको संज्ञा दिए । उनले भने, “प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य छ । यसै कारण प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयको स्थापना गरेको हो ।” उनका अनुसार, पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न कार्यालयले महत्वपूर्ण भूमिका खेल्नेछ ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयलाई ऐतिहासिक कदमका रूपमा व्याख्या गर्दै यसले सञ्चार माध्यमहरूलाई व्यवस्थित गर्दै पत्रकार र सञ्चार संस्थाबीचको आपसी विश्वासलाई मजबुत पार्ने विश्वास व्यक्त गरे । उनले पत्रकारिताको स्वतन्त्रता र पेशागत अधिकारको रक्षा गर्दै जिम्मेवार सञ्चारलाई प्रोत्साहन दिन आवश्यक नीतिगत, संरचनात्मक र स्रोतगत सहयोग निरन्तर उपलब्ध गराइने आश्वासन दिए ।

प्रदेश सरकारका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा कार्यालय महत्वपूर्ण बन्ने बताए । उनले यस संस्थालाई आवश्यक नीति, संरचना र स्रोतसाधनमार्फत सहयोग गरिने स्पष्ट पारे ।

प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानुनी अधिकार र कार्यक्षेत्रबारे जानकारी दिँदै कार्यालय दर्ता र नवीकरण मात्र नभई पत्रकारिता क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्ने अभिभावक संस्था हुने बताइन् । उनका अनुसार, कार्यालयले सञ्चार संस्थाको अनुमतिपत्र, नवीकरण, एफएम रेडियो इजाजत, अभिलेख व्यवस्थापन, फ्रिक्वेन्सी योजना, गुनासो सुनुवाई, अनुसन्धान, मूल्याङ्कन, पत्रकार सेवा–सुविधा अनुगमन, कल्याणकारी कोष सञ्चालन, तालिम तथा छात्रवृत्ति समन्वय, लोककल्याणकारी विज्ञापन वितरण र सिफारिसजस्ता जिम्मेवारीहरू निर्वाह गर्नेछ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल लगायतका सञ्चारकर्मीहरूले गण्डकीको सञ्चार क्षेत्रमा संस्थागत सुधारको नयाँ अध्याय सुरु भएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update