
स्याङ्जाको भीरकोट नगरपालिकाले डिजिटल प्रविधि–मैत्री नगरको अवधारणा अघि बढाउँदै सबै वडामा डिजिटल नागरिक वडा पत्र संचालनमा ल्याएको छ । तर, करिब एक वर्ष बितिसक्दा पनि यसको प्रयोग भने न्यून रहँदा योजनाको प्रभावकारिता प्रश्नमा परेको छ ।
नगरपालिकाले परम्परागत फ्लेक्स प्रिन्टमा भित्तामा टाँसिने नागरिक वडा पत्रलाई विस्थापित गर्दै डिजिटल माध्यममार्फत सेवा–सुविधा, जनप्रतिनिधि र कर्मचारीको विवरण, आवश्यक कागजात तथा दस्तुरलगायत सम्पूर्ण जानकारी उपलब्ध हुने व्यवस्था मिलाएको हो । करिब २० लाख लागतमा सफ्टवेयर हब नेपालको प्राविधिक सहयोगमा यो प्रणाली स्थापना गरिएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिए ।
नगर उपप्रमुख भगवती रेग्मी अर्यालका अनुसार डिजिटल वडा पत्र ‘डिजिटल भीरकोट’ अवधारणाअन्तर्गत ल्याइएको हो । “यसले नागरिकलाई सेवा प्राप्त गर्ने हक सुनिश्चित गर्छ, पारदर्शिता र जवाफदेहितामा टेवा पुर्याउँछ,” उनले भनिन् ।
तर, वास्तविकतामा भने समस्या जटिल देखिएको छ । अर्यालका अनुसार जनचेतना अभाव, नागरिक शिक्षाको कमी र आधारभूत प्रविधि प्रयोगप्रति नागरिकको झुकाव नहुँदा नगरपालिकाका केही नागरिकले मात्र यसलाई प्रयोग गर्ने गरेका छन् ।
डिजिटल प्रविधि प्रयोगमा ल्याए पनि नगरपालिकाले आधारभूत पूर्वाधारमै ध्यान नदिँदा योजना फेल हुँदै गएको छ। भरपर्दो विद्युत आपूर्ति नहुँदा स्क्रिन प्रायः अन्धकारमा रहन्छ भने ब्याकअप व्यवस्थाको समेत अभाव छ । कतिपय वडा कार्यालयमा स्क्रिनै दुर्गम कुनामा राखिएकाले प्रयोग गर्न असहज छ । यस कारण चाहेर पनि नागरिकले प्रयोग गर्न सकिरहेका छैनन् ।
“डिजिटल वडा पत्र प्रभावकारी बनाउन नागरिक शिक्षा, जनचेतना कार्यक्रम आवश्यक छ । कर्मचारी, जनप्रतिनिधि र संचारकर्मीको भूमिका पनि महत्त्वपूर्ण हुन्छ,” उपप्रमुख अर्यालले बताइन् ।
नगरपालिकाले एक वर्षसम्म पनि प्रयोग प्रवर्द्धनका ठोस कार्यक्रम नल्याउँदा वडा पत्र अपेक्षित रूपमा नागरिकमैत्री हुन नसकेको स्थानीयको गुनासो छ । डिजिटल प्रविधि भित्रिएको छ, तर नागरिक अझै टाढै छन् — भीरकोटको डिजिटल यात्रा यहीँ अड्किएको छ ।