
अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा गल्याङ जेसीजले गल्याङ क्षेत्रमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका उत्कृष्ट आठ युवाहरुलाई सम्मान गरेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका –९ का वडा अध्यक्ष नामदेव खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई शिक्षा, खेलकुद, उद्यमशीलता, स्वास्थ्य, कृषि, संस्कृति तथा नवप्रतिभा क्षेत्रमा उत्कृष्टताको आधारमा सम्मान गरिएको हो ।
समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशीलता र नेतृत्व क्षमता प्रदर्शन गर्ने तथा अनुकरणीय उदाहरण बनेका युवाहरुलाई पहिचान गर्दै सम्मान गर्ने उद्देश्यले गरिएको यो कार्यक्रम गल्याङ जेसीजको वार्षिक गतिविधिमध्ये एक महत्वपूर्ण आयाम बनेको अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकले बताए ।
कार्यक्रममा शिक्षा, धर्म तथा संस्कृति संरक्षण क्षेत्रमा गुरु दीपक गैह्रे, खेलकुद प्रशिक्षकमा छविलाल गाहा, नवप्रवर्द्धन उद्यमीमा कृष्ण पाठक, कृषि उद्यमशीलतामा प्रदीप पाण्डे, स्वास्थ्य क्षेत्रमा सन्तोष भण्डारी, पशुपालनमा तारा प्रसाद भण्डारी र नवप्रतिभावान युवातर्फ उमेश सेन्चुरीलाई(भलिबल) साथै सन्दीप खत्रीलाई(क्रिकेट) सम्मान गरिएको अध्यक्ष पाठकले जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष खनालले सम्मान वितरण गर्दै भने, “युवाहरु राष्ट्रको मेरुदण्ड हुन् । यिनको प्रतिभा र श्रमलाई उचित दिशा दिन सके मात्र समृद्ध समाज निर्माण सम्भव हुन्छ । गल्याङ जेसीजले सुरु गरेको यो सम्मान परम्परा युवाहरुलाई प्रेरित गर्ने ऐतिहासिक कदम हो ।”
यस्तै, गल्याङ जेसीज अध्यक्ष पाठकका अनुसार, कार्यक्रममा सहभागी युवाहरुलाई मात्र होइन, सम्पूर्ण समाजलाई प्रगतिशील सोच र एकताको भावना तर्फ अघि बढाउने लक्ष्य लिइएको छ । दीर्घकालीन रूपमा युवा सशक्तीकरण, सीप विकास, नेतृत्व प्रशिक्षण र सामाजिक उत्तरदायित्व प्रवर्द्धन यस अभियानको प्रमुख उद्देश्य हो ।
कार्यक्रममा गल्याङ नगरपालिका, विभिन्न वडाका प्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा, पूर्व जेसीज पदाधिकारी, स्थानीय शिक्षक, व्यवसायी तथा दर्जनौँ युवाको उपस्थिति रहेको थियो । सहभागीहरुले यो वर्षको कार्यक्रमलाई “जोश, प्रतिबद्धता र प्रेरणादायी” भनेर मूल्यांकन गरेका छन् ।