
स्याङ्जाको वालिङ नगरपालिका –८ मा अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएपछि बङ्गुरपालक किसान त्रसित भएका छन् ।
वालिङ–८ निवासी पदमबहादुर सोती मगरको मासु पसल र बङ्गुर फार्ममा देखिएको प्रारम्भिक लक्षणका नमुना परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइएका थिए । प्रयोगशालाले पोजेटिभ रिपोर्ट पठाएपछि नगरपालिकाले सो फर्म र पसलबाट बिक्रीमा ल्याइएको १४० केजी संक्रमित मासु तत्काल नष्ट गरेको हो ।
उपप्रमुख कविता तिवारी (गैरे)ले खोर वरिपरिको क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताउँदै भनिन्, “एक पटक खोरमा संक्रमण पसिसकेपछि सबै बङ्गुर मर्ने सम्भावना धेरै हुन्छ । बाँकी क्षेत्र जोगाउन सजगता अनिवार्य छ ।”
नगरपालिकाले मगरको फार्म र मासु पसललाई पूर्ण निसंक्रमण गरी कम्तीमा ४० दिनसम्म पशुपालन रोक लगाएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । “अब प्रमाणसहितको स्वच्छ प्रक्रियालाई मात्र मान्यता दिइनेछ, कागजको भरमा आयात रोकिन्छ,” उनले भने ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले निसंक्रमण औषधि वितरण अभियान थालेको छ । केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठका अनुसार, अफ्रिकन स्वाइन फिभर विरुद्ध हाल न त खोप छ, न त ठोस उपचार ।
“नियन्त्रणको एउटै उपाय भनेको रोग भित्रिन नदिनु, संक्रमित खोरमा पूर्ण निसंक्रमण गर्नु, र अन्य खोरसँग सम्पर्क रोक्नु हो,” उनले स्पष्ट पारे ।
श्रेष्ठका अनुसार, हालको संक्रमण पाल्पाबाट ल्याइएका बच्चा बङ्गुरबाट सुरु भएको हो । गत वर्ष पुतलीबजारमा पनि बाह्य जिल्लाबाट ल्याइएका बङ्गुरका कारण यही रोग फैलिएको थियो ।
विगत तीन वर्षमा स्याङ्जामा मात्र एक हजारभन्दा बढी बङ्गुर अफ्रिकन स्वाइन फिभरका कारण मरेका छन् । दर्जनौं फर्म बन्द भएका छन् र धेरै किसान ऋणमा डुबेका छन् ।
बजारको अभाव पूर्ति गर्न बाह्य जिल्लाबाट हुने बङ्गुर आयातमा रोगको उच्च जोखिम रहँदै आएको विज्ञहरूको भनाइ छ । स्वास्थ्य परीक्षणबिना आयात, कमजोर प्रमाणपत्र प्रणाली, र निरीक्षणको फितलो अवस्था नै संकटको जड भएको उनीहरू बताउँछन् ।
स्थानीय कृषि प्रणाली, बजार संरचना र जनस्वास्थ्यमा असर पार्ने अफ्रिकन स्वाइन फिभर नियन्त्रणका लागि नियमन, अनुगमन र चेतनाको त्रिकोण बलियो बनाउन विज्ञहरूको आग्रह छ ।
“कानुन त छ, कार्यान्वयन बलियो भएन भने किसान विस्थापित र उपभोक्ता त्रसित बन्ने क्रम रोकिँदैन,” डा. श्रेष्ठको भनाइ छ ।