Syangja Dainik Media
अवैध ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्याक्टर प्रहरी नियन्त्रणमा

स्याङ्जाको गल्याङ नगरपालिका –५ रूखापानी र घिमिरेखोला क्षेत्रमा अवैध रूपमा ढुङ्गा ओसारपसार भइरहेको भन्ने प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको टोलीले दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

प्रहरीका अनुसार साउन २९ गतेको अपरेसनमा ग १ त ७१५५  र लु ४ त ६५६७  नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ट्याक्टरहरूलाई वडा प्रहरी कार्यालय वालिङमार्फत आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको बताए । उनले अवैध उत्खनन र ओसारपसारमा संलग्नलाई कानूनी दायरामा ल्याउने कार्यलाई थप सशक्त बनाइने उल्लेख गरे ।

यसअघि पनि स्याङ्जाको विभिन्न क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानीमा संलग्न साधनसामग्री नियन्त्रणमा लिएर कारबाही गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update