Syangja Dainik Media
सामाजिक उत्तरदायित्वतर्फ ‘पहिलो पाइला नेपाल-स्याङ्जा’
तस्बिर: पाणिनी गुरुकुलका बटुक विद्यार्थी

समाजलाई एकतर्फी औपचारिकता वा औपचारिक कार्यक्रमद्वारा मात्र होइन, सन्देशमूलक क्रियाकलापमार्फत जोड्ने उद्देश्यसहित ‘पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा’ले पुतलीबजार नगरपालिका –१४ स्थित पाणिनी संस्कृत गुरुकुलमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष पवन मरासिनी र सहसचिव स्वीकृति पोखरेलको जन्मदिनलाई स्मरणीय बनाउँदै गत साउन ३१ गते ‘जन्मोत्सव विशेष कार्यक्रम’ र ‘तीज मिलन समारोह’को संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार भरतप्रसाद लम्सालले संस्थाले युवालाई सामाजिक सेवामा सक्रिय बनाई समाज परिवर्तनतर्फ ठोस कदम चालेको उल्लेख गरे । उनले “सामाजिक भावनाको विकास र चेतना अभिवृद्धिका लागि पहिलो पाइला सशक्त भूमिकामा रहेको छ” भन्दै संस्थालाई अझ सुदृढ बनाउन सुझाव दिएका थिए ।

पाणिनी गुरुकुल अध्यक्ष चुडामणी शर्मा, पहिलो पाइला पुतलीबजार स्याङ्जाका सल्लाहकार चन्द्रमणी पौडेल, केन्द्रीय सदस्य स्मृति काफ्ले र सन्ध्या लामिछानेलगायतले संस्थाको क्रियाशीलता र सामाजिक उत्तरदायित्वमाथि आआफ्ना धारणा राखे । कार्यक्रममा पाणिनी गुरुकुलका १४ जना बटुक विद्यार्थीलाई सामूहिक भोजनको व्यवस्था गरिएको थियो ।

पहिलो पाइला पुतलीबजार स्याङ्जाका अध्यक्ष मरासिनीले “यस किसिमका गतिविधिले सामाजिक एकता र सकारात्मकता फैलाउँछ” भन्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा समुदायमै केन्द्रीत विविध कार्यक्रम निरन्तर गर्ने प्रतिवद्धता जनाए ।

संस्थाका कोषाध्यक्ष विशाल ढुंगानाले स्वागत मन्तव्य राखेका थिए भने सचिव देवदत्त सुवेदी गोपिले सञ्चालन गरेका उक्त कार्यक्रममा सहभागी वक्ताले ‘पहिलो पाइला नेपाल’लाई समाजको आवश्यकता अनुसार अझ क्रियाशील रहन सुझाव दिएका थिए ।

यसरी जन्मोत्सव र तीज मिलनलाई सामाजिक उत्तरदायित्वसँग गाँस्ने खालका गतिविधि पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जाको पहिचान बन्दै गएको देखिन्छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update