Syangja Dainik Media
युवाको सीप देशमै: वैदेशिक रोजगारीको विकल्प खोज्दै गण्डकी

नेपालमा बेरोजगारी र दक्ष जनशक्तिको अभाव एकैपटक देखिएको दोहोरो समस्यालाई सम्बोधन गर्ने उद्देश्यसहित गण्डकी प्रदेशमा करियर बुथ स्थापना गरिएको छ । वैदेशिक रोजगारीमा धाइरहेका युवालाई देशभित्रै अवसरसँग जोड्ने र उद्योग–व्यवसायले चाहेको सीपयुक्त जनशक्ति उपलब्ध गराउने लक्ष्यसहित यो कार्यक्रम थालिएको हो ।

काठमाडौँ विश्वविद्यालय र इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (आइल्याव) नेपाल कार्यक्रम अन्तर्गत गण्डकी टिममार्फत १० स्थानमा करियर बुथ स्थापना हुने भएको हो । यसका लागि आईतबार पोखरामा आयोजित विशेष कार्यक्रममा प्रदेशका शैक्षिक तथा व्यवसायिक संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

आइल्याव गण्डकीका संयोजक तथा वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी (गैरे)ले करियर बुथलाई बेरोजगारीसँग प्रत्यक्ष लड्ने र सीपयुक्त मानव संसाधन उत्पादन गर्ने महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गरिन् । उनले भनिन्, “यसको मूल लक्ष्य भनेको युवालाई सीपअनुरूप रोजगारीसँग जोड्नु, संस्थालाई दक्ष जनशक्ति उपलब्ध गराउनु र कामदारलाई मार्गदर्शन गर्नु हो ।”

यसैगरी, सदस्य शरद कोइरालाले करियर बुथ पाँच प्रकारका सेवाग्राहीलाई लक्षित रहेको जानकारी दिइन्—रुचि अस्पष्ट भएकाहरू, अपूरा सीप भएका कामदार, अनौपचारिक सीप हासिल गरेका, अनुभवी व्यक्तिहरू तथा पेशागत रूपमा स्थापित व्यक्तिहरू सबै यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

समझदारीमा हस्ताक्षर गर्ने संस्थामध्ये रोजगारी सूचना केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेश, गण्डकी प्राविधिक शिक्षा प्रतिष्ठान, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका, माछापुच्छ्रे गाउँपालिका, पोखरा प्राविधिक शिक्षालय, किसान प्राविधिक शिक्षालय, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट रहेका छन् ।

करियर बुथमार्फत पेशागत विकासका लागि आवश्यक सीप परीक्षण, तालिम, रोजगार अवसर र उद्यमशीलता परामर्श उपलब्ध हुनेछ । यसले प्रदेशभित्रै दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने मात्र होइन, वैदेशिक रोजगारीमा धाउनुपर्ने बाध्यता कम गर्न सक्ने विज्ञहरूको भनाइ छ ।

शिक्षा विज्ञहरूको अनुसार, नेपालमा शिक्षा र रोजगारीबीचको ठूलो खाडल करियर बुथजस्ता अभ्यासले घटाउन सक्छ । निरन्तरता पाए गण्डकी प्रदेश प्राकृतिक सुन्दरता मात्र नभई सीपयुक्त मानव संसाधनको केन्द्रका रूपमा पनि चिनिने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update