Syangja Dainik Media
गाउँमै आँखा स्वास्थ्य शिविर : वालिङ नगरपालिकाको नागरिकमैत्री पहल

स्वास्थ्य सेवालाई गाउँ–गाउँसम्म पुर्‍याउने स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको सक्रियतामा सञ्चालन भएको आँखा स्वास्थ्य शिविरले सर्वसाधारणलाई जीवनमा ठुलो राहत दिएको छ ।

नगरपालिकाको आयोजना र पोखरास्थित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँको वडा नं. -७ केवरेभञ्ज्याङ स्वास्थ्य चौकी र वडा नं. -११ श्री कालिका आधारभूत विद्यालय, भकभकामा गरिएको शिविरमा २६१ जनाले आँखा जाँच गराएका थिए । तीमध्ये ३२ जनामा मोतियाविन्दु पत्ता लागेको नगर स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिए । प्रभावित बिरामीहरूको भदौ ४, ५ र ६ गते गह्रौं प्राथमिक अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ ।

नगरप्रमुख कृष्ण खाँणका अनुसार, स्थानीय तहकै पहलमा यस्ता शिविर सञ्चालन गर्नु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने महत्त्वपूर्ण अभ्यास हो । उनले भने, “मोतियाविन्दु जस्ता रोग समयमै उपचार नगरे अन्धोपनमा पुग्छ । तर नागरिकले सुरुमा सामान्य ठान्ने भएकाले यस्ता शिविर अत्यन्तै उपयोगी छन् । नगरपालिकाले नियमित रूपमा निरन्तरता दिनेछ ।”

नगरउपप्रमुख कविता तिवारी गैरेले ग्रामीण भेगमा उपचारमा ढिलाइ, खर्च र पहुँच अभावकै कारण समस्या जटिल हुने गरेको उल्लेख गर्दै निःशुल्क शिविरले नागरिकको स्वास्थ्य अधिकार व्यवहारमै सुनिश्चित गरेको बताइन् ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले आँखा स्वास्थ्य शिविरलाई नगरपालिकाको स्वास्थ्य प्राथमिकताको प्रमाणका रूपमा लिएको बताए । “यो एकपटकको कार्यक्रम मात्र होइन, निरन्तरता पाउने अभियान हो । गत वर्ष पनि १५२ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो,” सुवेदीको भनाइ थियो ।

स्थानीय तहको स्रोत र बजेट परिचालन गर्दै २६१ जनामध्ये ३२ जनालाई शल्यक्रियाको प्रत्यक्ष सुविधा दिलाउने व्यवस्था हुनु, वालिङ नगरपालिकाको नागरिकप्रतिको उत्तरदायित्व र जनप्रेमको स्पष्ट परिचय बनेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update