
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङ आफ्नो जन्मभूमि स्याङ्जाको अर्जुनचौपारी पुगेका छन् । त्यहाँ पुगेर उनले नेपालकै पहिलो नवग्रह(नौ आकाशीय पिण्ड) मन्दिरमा विधिवत पूजा अर्चना गर्दै दर्शन गरेका छन् ।
स्याङ्जा जन्मघर आएका गुरुङले अर्जुनचौपारी गाउँपालिका –१ जलबराह धार्मिक वनमा बनेको नवग्रह मन्दिरमा पूजा गर्दै जन्मभूमिले दिएको गहिरो आशीर्वादको अनुभूति गरेका थिए ।
मन्दिरसँगै रहेको षट्कोण शिवालयमा पञ्चमुखी शिवलिङ्ग, गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानलगायतका मूर्तिमा पूजा गर्दै उनले बाल्यकालको सम्झना ताजा भएको बताए । त्यसपछि उनले पञ्चकन्या मन्दिरमा दर्शन गरे र नवग्रहको पहिलो चक्र परिक्रमा गर्दै बाहिर निस्किए ।
“यो मन्दिर मेरो जन्मभूमिको गौरव मात्रै होइन, सम्पूर्ण देशकै धार्मिक पर्यटनको धरोहर बन्न सक्छ । यसको संरक्षण र प्रवर्द्धनमा म आफ्नो तर्फबाट सक्दो पहल गर्छु,” गुरुङले भने ।
उनले स्थानीय श्रमदान र गाउँपालिका अध्यक्ष प्रकाश तिवारीको नेतृत्वमा यत्रो ठूलो धार्मिक संरचना बनेकोमा गर्व व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।
२०८१ साल फागुनमा शिवरात्रिको अवसरमा अनुष्ठानसहित उद्घाटन गरिएको यो मन्दिर प्रदेश सरकारको ४० लाख, गाउँपालिकाको २० लाख र स्थानीय श्रमदानमा निर्माण भएको हो । २७ फिट अग्लो र नवभूज आकारमा बनाइएको मन्दिर आकाशतर्फ फर्किएको छ ।
१५७ रोपनीमा फैलिएको धार्मिक वनमा बनेको मन्दिर विश्वमै पहिलो किसिमको भएको दाबी गरिएको छ । मन्दिरको स्तम्भमा सौर्यमण्डलको प्रतीक राखिएको छ भने सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु र केतुका प्रतीक ग्रहअनुसारका रङमा सजाइएको छ ।
नवग्रह मन्दिर शनिबार नियमित खुल्ने र विशेष अवसरमा अन्य दिन पनि दर्शन गर्न सकिने व्यवस्था छ भने एक चक्रमा भने हरेक दिनमा पूजा गर्न सकिने छ । सौर्यमण्डलिय ब्रमाण्डको मूर्ति भने प्रत्येक वर्ष गणेश चतुर्थीमा मात्रै प्रदर्शनीका लागि खुलाइने र सो दिन पालिका नै बिदा गरेर पूजा गरिने पालिकाले जनाएको छ ।
यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ । षट्कोण, नवग्रह तथा यहाँ हिँड्ने बाटोमा स्थानिय ढुङ्गा बिच्छाएर कलात्मक बनाइएको छ भने दुबो बिच्छाएर हरिया र सुन्दर बनाइएको छ ।