
नेपाल रेडक्रस सोसाइटी, जुनियर तथा युवा रेडक्रस समिति स्याङजाको आयोजनामा बुधबार सम्पन्न जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा चिराग आवासीय माध्यमिक विद्यालय विजयी भएको छ ।
रेडक्रस सोसाइटी स्याङ्जाको सभाहलमा आयोजित प्रतियोगितामा जिल्लाका १० वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । तीमध्ये उत्कृष्ट प्रदर्शन गरेको चिराग आवासीय माविले प्रथम स्थान हासिल गर्दै पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्यो ।
यसैगरी, अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी दोस्रो र भगवती माध्यमिक विद्यालय तेस्रो स्थानमा रहन सफल भए । दोस्रो बनेको अर्जुनचौपारीले तीन हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्यो भने तेस्रो भगवती माविले दुई हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पार्यो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य दिनेश अर्यालले युवामाझ सेवा, मानवता र स्वैच्छिकताको भावना जागृत गर्न रेडक्रस निरन्तर सक्रिय रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीलाई बौद्धिक, नैतिक र सामाजिक दृष्टिले सबल बनाउने बताए ।
यस्तै, पुतलीबजार नगरपालिकाकी शिक्षा अधिकृत शोभा बस्यालले शिक्षा प्रणालीमा व्यवहारिक ज्ञान र सामाजिक उत्तरदायित्व उतिकै जरुरी रहेको धारणा राखिन् । उनले पाठ्यपुस्तक बाहिरका क्रियाकलापले विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्ने र आत्मविश्वास बढाउने बताइन् ।
नेपाल पत्रकार महासंघ स्याङजाका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले हाजिरीजवाफ प्रतियोगिता जस्ता कार्यक्रमले विद्यार्थीलाई यथार्थ बुझ्ने, तर्क गर्ने र विश्लेषण गर्ने क्षमतामा मद्दत गर्ने भन्दै प्रशंसा गरे ।
कार्यक्रममा शिक्षक, विद्यार्थी प्रतिनिधि र रेडक्रसका संयोजकहरूले समेत ज्ञानमूलक प्रतियोगितालाई अझ व्यापक र सहभागी विद्यालयको दायरा बढाउँदै लैजान सुझाव दिए ।
कार्यक्रमको संयोजन नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रस समिति स्याङजाका संयोजक विष्णु सुवेदीले गरेका थिए भने सञ्चालन प्रमुख संजिता श्रेष्ठले गरिन् ।
रेडक्रसले सुरु गरेको यस्ता पहलले विद्यार्थीमा सामाजिक चेतना, प्रतिस्पर्धात्मक भावना र सकारात्मक ऊर्जा जगाउने विश्वास गरिएको छ ।