Syangja Dainik Media
अर्जुनचौपारीमा कालोपत्रे अभियान: तीन वर्षमै २५ किमी सडक कालोपत्रे

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ग्रामीण सडक कालोपत्रे अभियानलाई तीव्रता दिँदै पछिल्लो तीन वर्षमा मात्रै २५ किमी सडक कालोपत्रे गरेको छ । संघीयता स्थापनाको पहिलो पाँच वर्षमा कालोपत्रे शून्य रहेको यस गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत र बजेट प्रयोग गरी गत तीन वर्षयता उल्लेख्य उपलब्धि हासिल गरेको हो ।

गाउँपालिकाले आफ्नै बजेटबाट १८ किमी कालोपत्रे सम्पन्न गरेको छ भने प्रदेश सरकार र शहरी विकासको सहयोगमा थप ७ किमी कालोपत्रे भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै १० करोड लागतमा ७ किमी सडक कालोपत्रे गरिएको छ ।

पालिकाले अध्यक्ष तिवारीको कार्यकालको पहिलो वर्षमै पाँच किमी र दोस्रो वर्षमा छ किमी कालोपत्रे गरेको छ । बहुवर्षीय योजनाअन्तर्गत थप पाँच किमी कालोपत्रे कार्य तीव्र गतिमा अघि बढिरहेको अध्यक्ष तिवारीले जानकारी दिए । हाल यहाँको वडा नं. –१, २ र ३ मा कालोपत्रे सम्पन्न भइसकेको छ भने वडा नं. –४ र ६ मा ठेक्का प्रक्रियापछि काम भइरहेको छ । वडा नं. –५ मा कालोपत्रेको लागि प्रक्रिया सम्पन्न भइसकेको र डेढ वर्षभित्र पूरा हुने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पछिल्लो तीन वर्षमा सडक पूर्वाधारमै ३० करोड रुपैयाँ लगानी गरेको छ । यसअन्तर्गत हेलु–अर्जुनचौपारी सडकखण्डमा चार किमी, अर्जुनचौपारी बजार हुँदै पुतलीबजारतर्फ दुई किमी, दरौंखण्डमा पाँच सय मिटर, दारेगौँडा र रैते सडकखण्डमा एक–एक किमी कालोपत्रे गरिएको हो ।

कालोपत्रे भएपछि लामडाँडा, रापाकोट, दरौं, आरुचौरलगायतका गाउँका स्थानीयलाई आवतजावतमा सहज भएको छ । कृषि उत्पादन बिक्रीदेखि बिरामी परेमा अस्पताल जानसम्म सहज बनेको उनीहरूको भनाइ छ ।

गाउँपालिका, प्रदेश सरकार र शहरी विकासको संयुक्त प्रयासमा कालोपत्रे भएको सडकले सिद्धार्थ राजमार्गको हेलु हुँदै अर्जुनचौपारी, घण्टे भएर बागलुङसम्म जोडिने भएकाले यसले क्षेत्रीय आवतजावत र आर्थिक गतिविधिमा थप टेवा पुग्ने देखिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update