
गैर सरकारी संस्था महासंघ स्याङ्जाको २० औं साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन शनिबार पुतलीबजार नगरपालिका –३ स्थित सहयात्री पार्टी प्यालेसमा सम्पन्न भएको छ । अधिवेशनले एकनारायण सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा युवराज पराजुली, सचिव मीनबहादुर थापा, कोषाध्यक्ष देवि बस्याल नेपाली, उपसचिव शिव पोखरेल रहेका छन् । सदस्यहरुमा सुनिता पौडेल गौतम, पवन मरासिनी र शान्ता नेपाली चयन भएका छन् । निर्वाचन मण्डल संयोजक महासंघ गण्डकीका उपाध्यक्ष पदमराज पहारीले समितिको घोषणा गरेका थिए ।
२० औं साधारण सभाको अवसरमा संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै तत्कालीन अध्यक्ष गोविन्दप्रसाद शर्माले ११ वटै स्थानीय तहहरुसँग समन्वय गर्दै महासंघले कार्यक्षेत्र विस्तार गरेको बताए । सोही अवसरमा महासंघ स्याङ्जाका पूर्वअध्यक्षहरु कमलप्रसाद पौडेल, रुकुमदत्त शर्मा र रामचन्द्र गौतमलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
यसअघि महासंघले अधिवेशनकै दिन संघ–संस्था सम्बन्धी मस्यौदा ऐन–२०८२ केन्द्रित अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । उद्घाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले संविधान विपरीत कानुन ल्याएर सरकारले गैर सरकारी संस्थामाथि अंकुश लगाउन खोजेको टिप्पणी गर्दै सामाजिक संस्थालाई उर्जा दिने खालको कानुन बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव राजेन्द्र पौडेल, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, फेकोफन स्याङ्जाकी अध्यक्ष तारा शर्मा, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघ स्याङ्जाका सहसचिव रमेश गोदारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महासंघ स्याङ्जाका अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मीन थापाले गरेका थिए भने सञ्चालन सचिव एकनारायण सापकोटाले गरेका थिए ।